सुचना, समाचार र मनोरन्जन

वेब सिरिजमा बढ्दो अश्लीलता र गालीप्रति अभिनेता परेश रावलको आपत्ति

मुम्बई :

भारतीय अभिनेता परेश रावलले वेब सिरिजमा अत्यधिक रुपमा प्रस्तुत गरिँदै आएका अश्लील र इंटीमेट दृश्यहरू तथा गाली–गलौजप्रति आपत्ति जनाएका छन्। उनले यस्ता दृश्यहरू कथासँग मेल नखाने, सस्तो लोकप्रियताको होडमा राखिएको भन्दै तीव्र आलोचना गरेका हुन्।

हालै एक अन्तर्वार्तामा रावलले स्पष्ट रुपमा भने,‘आजभोलिका अधिकांश वेब सिरिजहरूमा यौन दृश्य र गाली प्रयोग अनावश्यक ढंगले गरिन्छ। कथा कमजोर हुँदा दर्शकलाई आकर्षित गर्न यस्ता सस्ता उपाय अपनाइन्छन्, जुन दीर्घकालीन रूपमा हानिकारक छ।’

उनका अनुसार, यस्तो प्रवृत्तिले दर्शकको मानसिकतामा नकारात्मक असर पार्नुका साथै परिवारसँग बसेर हेर्न सकिने संस्कृति समाप्त गरिरहेको छ। परेश रावलले आफ्ना विचार राख्दै दर्शकहरू अब यस्ता कुराबाट थाकिसकेको बताए। उनले थपे,‘शुरुमा त आकर्षक लाग्छ होला, तर अब दर्शकले यसलाई गम्भीर रूपमा लिन छाडिसकेका छन्। सामग्रीको गुणस्तर घट्दै जाँदा समाजमा असर पार्ने जोखिम बढेको छ।’

उनले यस्ता कुराहरुलाई निर्माता तथा निर्देशकहरूले आत्मनियन्त्रण गर्न सकेनन् भने सरकार आफैं हस्तक्षेप गर्न बाध्य बन्न सक्ने तिन्ता व्यक्त गरे। उनले भने,‘मलाई लाग्छ, यदि यस्ता दृश्यहरूको प्रयोग अनियन्त्रित रूपमा चलिरह्यो भने नियामक निकायहरू सक्रिय हुनुपर्ने अवस्था आउन सक्छ।’

परेश रावल भारतीय फिल्म उद्योगका एक स्थापित नाम हुन्, जो आफ्ना स्पष्ट अभिव्यक्ति र सामाजिक विषयमा धारदार टिप्पणीका लागि परिचित छन्। हालै उनले अक्षयकुमारको फिल्म ‘हेरा फेरी ३’बाट बाहिरिएका थिए। उनी यसको चर्को विवादमा मुछिएपछि पुन उनीहरुबीच सहमती जुटेको छ।

उनी फिल्मको सुटिङ सेटबाट नै बाहिरिएको चर्चाले ठुलै चर्चा पाएको थियो भने उनी बिरुद्ध निर्माण पक्ष नै लागेको थियो। सुटिङको खर्च व्यहोर्नका लागि परेशलाई भनिएको थियो। विवादमा मुछिएका परेशले हालै वेब सामग्रीको गुणस्तरप्रति गम्भीर प्रश्न उठाएका हुन्। जुन यतिबेला भारतिय फिल्मकर्मीलाई प्रश्नको घेरामा राखेको छ।

आजतकको सहयोगमा

Leave A Reply

Your email address will not be published.