काठमाडौं :
यही माघ ९ गते शुक्रबारदेखि प्रदर्शनमा आउने एक्सन फिल्म **‘परिवर्तन’**को अग्रिम बुकिङ खुला गरिएको छ। देशभरका अधिकांश सिनेमा हलहरूले बुकिङ खुला गरिसकेका छन् भने केही हलले अझै प्रि–बुकिङ खोल्न बाँकी रहेको जनाइएको छ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं र उपत्यकाबाहिर गरी ३२ शो प्रदान गरेको छ। दोस्रो ठूलो चेन आईएनआईले १५ शो उपलब्ध गराउँदा वान सिनेमाजले ९, एफक्यूबले ४ र विग मुभिजले ३ शो बुकिङ खुलाएको छ। यो समाचार तयार पार्दासम्म ‘परिवर्तन’ले देशभर १०० भन्दा बढी शो प्राप्त गरिसकेको छ।
पछिल्लो समय फिल्मका गीत र ट्रेलरले राम्रो चर्चा पाएका छन्। फिल्ममा समावेश गीत ‘पाकेको चिउरी’ दर्शकमाझ लोकप्रिय बनेको छ भने ट्रेलरलाई छोटो समयमै ११ लाखभन्दा बढी दर्शकले हेरेका छन्।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको ‘परिवर्तन’मा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य अभिनय रहेको छ।
दीपक सिवाकोटी निर्माता रहेको फिल्मको कथा सिवाकोटीकै हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। एक्सन–सस्पेन्स विधामा बनेको चलचित्रमा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ। ‘परिवर्तन’लाई आरआर फिल्म्सले वितरण गरेको हो भने ओएसआर डिजिटल सहकार्यमा रहेको छ।