काठमाडौं :
यो वर्ष अभिनेता पल शाहका लागि सुखद् बन्न सकेन। उनका तीन फिल्ममध्ये ‘रावायण’,‘मायावी’ असफल बन्न पुग्यो भने ‘पूजार सार्की’सुपरहिट भयो। आफ्नो एक फिल्म बाहेक अरु बक्स अफिसमा असफल बनेता पनि उनी आफ्नो फिल्मले राम्रो व्यापार गरेको दाबी गरेका छन्। पत्रकारसँगको कुराकानीमा उनले फ्लप फिल्मको पनि ‘इनिसियल’ व्यापार राम्रो रहेको दाबी गरे।
‘मेरो फिल्महरू ‘इनिसियल’ राम्रो भएका छन्,’उनले राजधानीमा भएको अवार्ड कार्यक्रममा मिडियसँगको कुराकानीमा भने,‘बक्स अफिस रिपोर्ट हेर्ने हो भने मेरो फ्लप फिल्मको पनि दुई दिनको व्यापार राम्रो छ ।’
उनले थपे,‘दुई दिनपछि त बक्स अफिस रिपोर्ट राम्रो हुनलाई फिल्म आफैंमा राम्रो हुनुपर्छ। सायद ती फिल्महरुले दर्शकलाई ‘कनेक्ट’ गर्न सकेन होला। आगामी दिनमा ‘कनेक्ट’ हुने फिल्ममा काम गर्नेछु ।’
उनले एउटा फिल्म फ्लप हुँदा आफ्नो मात्र हात नहुने बताए। त्यसमा भएका ५०,६० जनाको मेहनत असफल भएको बताए।
उनले भने,‘फिल्म बन्नमा एकजनाको मात्र हात हुँदैन । ५०/६० जना त्यसमा संलग्न भएका हुन्छन् । अनि सबैको आ–आफ्नो कन्सेप्ट हुन्छ।’
उनले फिल्म चल्छ नै भन्ने कुरामा स्योर नहुने तर म्युजिक भिडियोमा भने हुने दाबी गरे।
उनी थप्छन्,‘सयवटा हात मिल्दा कहिले काहीँ राम्रो काम पनि बिग्रिन सक्छ अनि कहिले काहीँ नराम्रो चिज पनि राम्रो हुनसक्छ । म्यूजिक भिडियोमा भने सीमित व्यक्ति मात्र संलग्न हुने भएकाले लगभग ‘स्योर’ राम्रो हुन्छ । तर, फिल्ममा त्यो कुरा भन्न सकिँदैन।’
उनले निर्देशकले कलाकारको कुरालाई नमान्दा फिल्म नचल्ने गरेको बताए। उनले अगाडि भने,‘कहिले काहीँ कलाकारको कुरा नसुन्दा पनि फिल्म चल्दैन।’