सुचना, समाचार र मनोरन्जन

पल शाहको नयाँ फिल्म ‘आ बाट आमा’ ले तोड्यो ७ वर्ष पुरानो रेकर्ड,राजेश हमालको फिल्मले कति कमायो?

काठमाडौं :

सात वर्षपछि पल शाहले आफ्नो करिअरको सबैभन्दा ठूलो व्यावसायिक उपलब्धि पुनः स्थापित गरेका छन्। २०७४ सालमा रिलिज भएको शत्रु गते उनको सर्वाधिक कमाउने फिल्म बनेको थियो, जसले चलचित्र विकास बोर्डको तथ्यांक अनुसार १२ करोड ६५ लाख रुपैयाँ ग्रस आम्दानी गरेको थियो। तर अब यो रेकर्ड पल शाहको नयाँ फिल्म आ बाट आमाले तोडेको छ।
यस फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् भने फिल्ममा पल शाहका अलवा विपना थापा,प्रदीप राउत,उषा उप्रेती लगायतको अभिनय रहेको छ।

बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार फागुन २३ गतेसम्म आ बाट आमाले १२ करोड ६६ लाख ९० हजार ९८१ रुपैयाँ ग्रस कमाइसकेको छ। कुल ४ लाख ८२ हजार ६४७ टिकट बिक्री भइसकेको छ। यससँगै यो फिल्म यस वर्ष सर्वाधिक कमाउने दोस्रो नेपाली फिल्म पनि बनिसकेको छ। यसले जेरी अन टपलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ।

बोर्डले अन्य तीन फिल्म कुमारी, रमिताको पिरती र प्रवासी जीवनको पनि व्यापार तथ्यांक सार्वजनिक गरेको छ। तर यी तीनवटै फिल्मको आम्दानी एक करोड रुपैयाँ नाघ्न सकेको छैन। कुमारीले २० हजार २२७ टिकट बिक्रीबाट ६५ लाख रुपैयाँ ग्रस आम्दानी गरेको छ भने रमिताको पिरतीको व्यापार ३० लाख १३ हजार रुपैयाँ पुगेको छ। कुमारीमा नयाँ अनुहार आकृतिराज भण्डारी र अभिषेश खड्काको मुख्य भुमिकामा अभिनय गरेका छन्। साथै फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन्।

यता रमिताको पिरतीमा भने अभिनेत्री आना शर्मा आफैले लगानी र अभिनय गरेकी छन्। यता राजेश हमाल अभिनित प्रवासी जीवनको व्यापार भने निकै कमजोर देखिएको छ। प्रदर्शनको नौ दिनमा मात्र ५०१ टिकट बिक्री भएको र कुल व्यापार १ लाख ३८ हजार ४८० रुपैयाँ ग्रस रहेको छ। विश्लेषकका अनुसार सम्भवतः यो हमालको करिअरको सबैभन्दा कमजोर व्यापार गर्ने फिल्म हुनसक्ने छ। यस वर्ष हमालको अर्को फिल्म नरसिंहा अवतार पनि बक्स अफिसमा असफल भएको थियो।

Leave A Reply

Your email address will not be published.