काठमाडौं :
नेपाली चलचित्रको इतिहास संरक्षण गर्ने उद्देश्यले प्रस्ताव गरिएको चलचित्र संग्रहालयका लागि निर्देशक दीपक तामाङले महत्वपूर्ण सामग्री हस्तान्तरण गरेका छन्। सोमबार उनले चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा १२० वटा तामाङ भाषाका फिल्मका पोस्टर, ५१ वटा नेपाली फिल्मका पोस्टर तथा १० वटा फिल्मका पटकथा बोर्डलाई उपलब्ध गराएका हुन्। ती सामग्री उनले बोर्डका अध्यक्ष दिनेश डीसीलाई औपचारिक रूपमा बुझाइएका छन्।
कार्यक्रममा आदिवासी जनजाति चलचित्रकर्मी महासंघका कार्यवाहक अध्यक्ष भुइसल लामा,बोर्ड सदस्यहरू सन्तोष लोहनी, वीरेन्द्र भट्ट र गणेश प्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो।
यस अवसरमा निर्देशक तामाङले आफूले निर्देशन गरेका ७८ वटा फिल्मका सम्पूर्ण स्क्रिप्ट पनि क्रमशः बोर्डलाई हस्तान्तरण गर्ने जानकारी दिए। उनका अनुसार केही फिल्मका स्क्रिप्ट हराइसकेकाले अहिले पुनः टाइप गर्ने काम भइरहेको र तयार भएपछि ती सामग्री पनि बोर्डलाई उपलब्ध गराउने बचन दिए।
उनले नेपाली चलचित्रको इतिहास जोगाउन सुरु गरिएको संग्रहालय निर्माण अभियानलाई आफूले सकारात्मक रूपमा लिएको बताए। चलचित्र विकास बोर्डले नेपाली चलचित्रको इतिहाससँग सम्बन्धित पोस्टर, पटकथा र अन्य महत्वपूर्ण दस्तावेज संकलन तथा संरक्षण गर्ने उद्देश्यले संग्रहालय निर्माण प्रक्रिया अघि बढाएको छ।