पोखरा/
नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता तथा मोडल पल शाह अब फिल्म निर्माता बन्ने भएका छन्। नयाँ वर्ष २०८२ को अवसर पारेर शाहले पहिलो पटक निर्माण गर्न लागेको फिल्म ‘यानीमाया’ को औपचारिक घोषणा गरिएको छ।
‘पल शाह फिल्म्स’को व्यानरमा बन्ने फिल्मलाई लेखकका रूपमा पहिचान बनाइसकेका विकास सुवेदीले निर्देशन गर्नेछन्। सुवेदी ‘प्रकाश’, ‘पुजार सार्की’ र ‘महाभोज’ जस्ता सामाजिक कथावस्तुमा आधारित चर्चित फिल्महरूका लेखक हुन्। ‘यानीमाया’ बाट उनले निर्देशनमा पाइला टेक्दैछन्।
पारिवारिक र सामाजिक भावनालाई समेट्ने फिल्म ‘यानीमाया’ को कथा तथा पटकथा सुवेदीकै हुनेछ। निर्देशक सुवेदीले यो फिल्मलाई आफूले लेखेका अघिल्ला कथाभन्दा फरक शैलीमा प्रस्तुत गर्ने बताएका छन्।
पल शाहले दर्शकले दिएको माया र साथप्रति कृतज्ञता व्यक्त गर्दै अब अभिनयसँगै निर्माणको यात्रामा पनि अघि बढ्ने दृढता व्यक्त गरेका छन्। उनले भने, “अब म आफूलाई निर्माता भूमिकामा पनि स्थापित गर्न चाहन्छु। ‘यानीमाया’ मेरो त्यो यात्राको पहिलो खुड्किलो हो।”
फिल्मको छायांकन २०८२ सालको असार महिनाबाट सुरु हुने बताइएको छ। हाल कलाकार छनोटको प्रक्रिया अगाडि बढिरहेको निर्देशक सुवेदीले जानकारी दिएका छन्। पल शाहको यो नयाँ सुरुवातले नेपाली फिल्म क्षेत्रलाई नयाँ ऊर्जा दिने विश्वास लिइएको छ। दर्शकहरूले उनलाई निर्माता रूपमै पनि माया र साथ दिने अपेक्षा गरिएको छ।