काठमाडौं :
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्पले ठूलो जनधनको क्षतिभएपछि पोखरा महानगरपालिकाले उद्धार, राहत र पुनर्स्थापनाका लागि ५० लाख सहयोग गर्ने घोषणा गरेको छ । मेयर धनराज आचार्यले शनिबार ५० लाख सहयोगको घोषणा गरेका हुन् । त्यस्तै जनप्रतिनिधिले पनि भूकम्प प्रभावितका लागि एक महिनाको पारिश्रमिक पनि दिने बताएका छन्।
मेयर आचार्यका अनुसार पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको १ महिनाको पारिश्रमिकबाट सोघभर्ना हुने गरी १३ लाख १५ हजार बराबरको राहत सहयोग पठाइ सकिएको छ।
शनिबारै पोखरा महानगरपालिकाबाट वडाअध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरी सहितको टिम राहत तथा उद्धारका दुई वटा सानो गाडी र एक ट्रक सहित १७ जनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोलीले राहत सामाग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्याङ्केट र औषधी एवं उपचारका आवश्यक सामाग्री समेत लिएर गएको मेयर आचार्यले बताए। आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भुकम्प क्षेत्रको अवलोकन गर्दै घाइतेलाई भेटेर जतिसक्दो समस्याको समाधान गर्ने बताएका थिए।