सुचना, समाचार र मनोरन्जन

पोखरा १३ आर्बामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने

पोखरा ।

पोखरा १३ मा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ । मंसिर ७ देखि ९ गतेसम्म माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा पोखरा १३ आर्बाको विजय डाँडामा प्रथम पोखरा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा नेपाल सहित ११ देशका ८८ जना प्रतिस्पर्धीले भाग लिने आयोजक संस्था डन टिल डस्कका संयोजक सुनिलचन्द्र शर्माले जानकारी गराए । उनका अनुसार इलिट पुरुषतर्फको जुनियर (१२—१८ वर्ष), मास्टर्स ‘क’ (३०—३९ वर्ष), मास्टर्स ‘ख’ (४०—४९ वर्ष), भेटरान (५० वर्ष माथि), महिला ओपन तथा इबाइक गरी ७ विधामा अनुभवी साइकल चालकहरुले भाग लिनेछन् ।

भौगोलिक अवस्था र पर्यटकीय एवम् साहसिक खेलको प्रवद्र्धनका लागि साइकल प्रतियोगिताको आयोजना गरिएको उनले उल्लेख गरे । प्रतियोगितामा विजेतालाई पुरुष र महिला गरी ५०/५० हजार रुपैयाँको व्यवस्था गरिएको उनले बताए । जसका लागि बाहिरी मुलुकका व्यवसायिक कम्पनी सँग सहयोग प्राप्त भएको छ । भौतिक संरचनामा मात्रै आफुले ५० लाख खर्च गरेको र प्रतियोगिता सम्पन्न हुँदा सम्म अझै २० लाख खर्च हुने शर्माले बताए ।

आर्बामा हुने पोखरा एन्ड्युरो प्रतियोगिताले विश्वका माउन्टेन बाइकिङ प्रेमीहरुलाई आर्कषण गर्न मदत पुग्ने र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रतियोगितालाई सफल बनाउन वडा कार्यालयबाट कुनै कसर बाँकी नराख्ने पोखरा १३ का वडाध्यक्ष किरण बरालले जानकारी गराए । “पोखरा १३ को आर्बामा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने खबरले हामी हर्षित छौं । प्रतियोगितालाई सफल पार्न वडाले आर्थिक, भौतिक र नैतिक रुपमा नै सहयोग गर्नेछ ।”, उनले भने । उक्त प्रतियोगिताले पोखरा १३ आर्बाको पर्यटकीय स्थलको प्रचारप्रसारमा समेत सहयोग मिल्ने विश्वास उनको छ ।

कास्की जिल्ला साइकिलिङ संघका अध्यक्ष शंकर भण्डारीले पोखरा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितालाई सफल पार्न सबैले आ—आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए । उनले पोखरामा उक्त प्रतियोगिताले खेलाडीको मनोबल बढ्नु सँगै स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धनमा समेत टेवा पुग्ने बताए । समुद्री सतहबाट १४ सय मिटरको उचाइमा रहेको आर्बामा उक्त प्रतियोगिता हुँदा खेल पर्यटनमा महत्वपूर्ण योगदान हुने उनले बताए । कार्यक्रमलाई सफल पार्न पोखरा महानगरपालिकाले समेत सहयोग गर्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.