पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १५ ले पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने सम्बन्धि रोगको निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । मंगलबार (आज) वडा कार्यालय परिसरमा उक्त कार्यक्रम आयोजना भइरहेको छ । वडाका महिलाहरुको बाक्लो उपस्थिति छ ।
कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका छन् । शुभारम्भ गर्दै उनले रोगका बारेमा ढिला थाहा हुँदा समस्या आउने गरेको बताए । वर्षमा एक दिन यसरी वडाबाट निशुल्क स्वास्थ्य शिविर कार्यक्रम राख्नाले वडाबासी नागरिकलाई सहज हुने उनले बताए । पोखरा १५ ले आमादिदीबहिनीका लागि लक्षित गरेर आयोजना गरेको स्वास्थ्य शिविरबाट धेरैले लाभ लिने विश्वास उनको छ ।

उनले स्वास्थ्यमा देखिएको समस्यालाई न्यूनिकरण गर्न पोखरा महानगरपालिकाले ३३ वटै वडामा वृहत स्वास्थ्य शिविर गर्ने लक्ष्य लिएको उल्लेख गरे । सरकारी र नीजि क्षेत्रका ठूला अस्पतालका सबै विषयका विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा उक्त शिविरको आयोजना गर्ने भनाई उनको छ । जसमा पोखरा १५ ले प्रारम्भिक सुरुवात गरिसकेको उनले उल्लेख गरे ।

वडाध्यक्ष तोरण बानियाँले स्वास्थ्य शिविर कार्यक्रमका लागि पोखरा महानगरपालिकाको शहरी स्वास्थ्य केन्द्र, रेडक्रस र राइट फर चिल्ड्रेनको सहयोग रहेको बताए । उनले पोखरा १५ को पूर्वनिर्धारित कार्यक्रम अनुसार नै स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको जानकारी गराए । यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिँदै जाने भनाई उनको छ । दिनभरीमा चार सय जना महिलादिदीबहिनीहरुले सेवा लिने लक्ष्य वडाले राखेको छ ।
पोखरा महानगरपालिका स्वास्थ्य विभागकी सबिना श्रेष्ठले पाठेघरको मुखको क्यान्सरका कारण महिलाहरुको मृत्यु बढी हुने गरेको जानकारी गराइन् । उनका अनुसार पाठेघरको मुखको क्यान्सरलाई समयमा नै पहिचान गर्न सकिन्छ । हरेक तीन वा पाँच वर्षमा जाँच गरियो भने यस्तो रोगको समस्याबाट समाधान मिल्ने उनले बताइन् । ३० देखि ६० वर्ष उमेर समूहका महिलाहरुले पाठेघरको मुखको क्यान्सर सम्बन्धि जाँच गर्न सक्छन् । सुत्केरी महिला बाहेक अरु सबै प्रकारका महिलाहरुले पाठेघरको जाँच गर्न सक्ने भनाई उनको छ ।