सुचना, समाचार र मनोरन्जन

पोखरा महानगर विरुद्ध रास्वपाको शान्तिपूर्ण विरोध धर्ना

काठमाडौं :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीले पोखरा महानगरपालिकाले आर्थिक अनियमितता र अन्याय गरेको भन्दै त्यसकाविरुद्ध शान्तिपूर्ण विरोध धर्ना गरेको छ। सोमबार पोखराको महानागर पालिका अगाडि धर्ना दिएको हो। महालेखा परीक्षकको प्रतिवेदन अनुसार पोखरा महानगरको ८० करोड रुपैयाँ बेरुजू हिसाब रहेको र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ को दफा ४२ अनुसार महानगरपालिकाले आवश्यक काम नगरेकोमा भन्दै रास्वपाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

रास्वपाले महानगरपालिकाले कसैलाई कर छुट दिने अधिकार नभएको र मनिपाल हस्पिटललाई कर छुट दिने निर्णय गैरकानुनी भएको बताइएको छ। पोमनपा कार्यसमितिले २०७९ साल चैत १० गतेको बैठकमा मनिपाल हस्पिटललाई नक्सा पास र नयाँ भौतिक संरचना सम्पन्न गर्नुपर्ने रकममध्ये २१ करोडभन्दा माथिको रकममा जम्मा १ करोड ७५ लाख मात्र लिने र बाँकी रकम मिनाहा गर्ने निर्णय गरेको थियो।
महानगरपालिकाले जनतालाई करमा हर्जना असुलेको तर नाफामूलक ठूला करदाताहरुलाई गैरकानुनी रूपमा छुट दिएको र प्रत्यक्ष रूपमा २० करोडको नोक्सान गरेको निर्णयको विरोधमा विभिन्न मागसहित रास्वपाले धर्ना आयोजना गरेको बताएको छ।

उनीहरुले मनिपाललाई दिने कर छुट निर्णय फिर्ता गर्नुपर्ने,बेरुजु रकम ८० करोड फर्छ्योट गर्नुपर्ने,रिठ्ठेडाडाको कटानको राजस्व कहाँ छ?भनेर सार्वजनिक गर्नु,महालेखाले तोकेको राजस्व असुल गर्नुपर्ने, जनतालाई लुटैलुट, ठुलालाई छुटै छूट बन्द गर्नुपर्ने र महानगरपालिकाको १९ करोड ८२ लाख कहाँ छ? त्यो सार्वजनिक गर्नुपर्ने माग राखेका छन्।

रास्वपाले भविष्यमा यस्ता विकृतिहरूको विरोधमा सदैव देश र जनताको हितमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण महानगरवासीलाई यस आन्दोलनमा एक्यबद्धता र साथ दिन अनुरोध गरेको छ। कार्यक्रम जिल्ला सह–संयोजक राजु राईले समापन गरेका थिए।उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका संयोजक योगराज पौडेलको संयोजकत्वमा केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, महानगर र वडा का सभापतिहरु, सदस्यहरू, रास्वपाका शुभचिन्तकहरूको उल्लेख्य उपस्थितिमा पोखरा महानगर कार्यालय अगाडी शान्तिपूर्ण विरोध तथा दवावमुलक कार्यक्रम बिहान १०ः०० बजे सुरु गरी ११ः३० धर्ना दिएका थिए।

Leave A Reply

Your email address will not be published.