सुचना, समाचार र मनोरन्जन

पुरानो पोखरा जोगाएर नयाँ पहिचान बनाऔँ : शंकर बास्तोला

पोखरा,

पोखराको विकास आधुनिक पूर्वाधारमा मात्र सीमित नभई यसको ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षणसँग जोडिनुपर्नेमा पोखरा महानगरपालिका–४ का पूर्व वडाध्यक्ष शंकर प्रसाद बास्तोलाले जोड दिएका छन्। उनका अनुसार पोखराको वास्तविक पहिचान प्राकृतिक सौन्दर्यसँगै पुराना बस्ती, मौलिक वास्तुकला र सांस्कृतिक सम्पदामा पनि लुकेको छ।

बास्तोलाले विशेषगरी विन्दवासिनी मन्दिरदेखि सिद्धार्थ चोकसम्म फैलिएका पुराना घर, गल्ली र परम्परागत बस्तीलाई संरक्षण गर्दै आधुनिक पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले ती संरचनालाई भत्काएर नयाँ भवन निर्माण गर्नुको सट्टा संरक्षण गर्दै उपयोगमा ल्याउन सके पोखरा अन्तर्राष्ट्रिय स्तरको हेरिटेज सिटी बन्न सक्ने विश्वास व्यक्त गरे।

उनका अनुसार पुराना बस्तीलाई ‘हेरिटेज मार्केट’, ‘कल्चरल स्क्वायर’ र ‘ओल्ड टाउन वाकिङ स्ट्रिट’ का रूपमा विकास गर्न सकिन्छ। यसले स्थानीय हस्तकला, परम्परागत खानाका परिकार, बुटिक होटल, सांस्कृतिक प्रदर्शनी र स्थानीय उत्पादनलाई नयाँ बजार उपलब्ध गराउने मात्र होइन, पर्यटनको बसाइ अवधि पनि बढाउन सहयोग पुग्नेछ।

बास्तोलाले विश्वका धेरै चर्चित सहरहरूले आफ्ना ऐतिहासिक संरचनालाई जोगाएर नै पर्यटनको मुख्य आधार बनाएको उदाहरण दिँदै पोखराले पनि त्यही बाटो रोज्नुपर्ने बताए। यसबाट स्थानीय रोजगारी सिर्जना, व्यवसाय विस्तार र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।

उनले सम्पदा संरक्षणलाई विकासको अवरोध नभई दीर्घकालीन लगानी का रूपमा लिनुपर्ने धारणा राखे। “आज जोगाइएको एउटा पुरानो घर भोलि हाम्रो इतिहास, संस्कृति र पहिचानको जीवित दस्तावेज बन्न सक्छ,” भन्दै उनले सम्पदा संरक्षण भनेको केवल भवन बचाउने काम नभई पुस्तौंदेखिको जीवनशैली र सभ्यता जोगाउने अभियान भएको उल्लेख गरे।

बास्तोलाले स्थानीय सरकार, सम्पदा विज्ञ, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य गरी विकास योजनामा सम्पदा संरक्षणलाई अनिवार्य रूपमा समावेश गर्न आग्रह गरेका छन्। साथै उनले सम्पूर्ण पोखरेलीलाई “सम्पदा जोगाऔँ, पहिचान बचाऔँ, पुरानो पोखरालाई संरक्षण गर्दै विश्वस्तरीय हेरिटेज सिटी निर्माण गरौँ” भन्ने अभियानमा एकजुट हुन आह्वान गरेका छन्।

Leave A Reply

Your email address will not be published.