पोखरा,
पोखरा महानगरले आ–आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत ३५ वर्षमुनिका ६ जना युवाहरूलाई ‘पोखरा महानगर युवा प्रतिभा पुरस्कार’ बाट पुरस्कृत गरेको छ । बिहीबार आयोजित समारोहमा मेयर धनराज आचार्यले युवाहरूलाई दोसल्ला ओढाएर जनही ३०/३० हजार रुपैयाँ नगदसहित पुरस्कृत तथा सम्मानित गरे । पोखरालाई कर्मथलो बनाई आआफ्नो क्षेत्रमा अनुपम योगदान गरेका युवालाई महानगरपालिकाले महानगर युवा परिषद्मार्फत पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेहरूमध्ये शारीरिक चुनौतीलाई अवसर र सम्भावनाको यात्रामा रूपान्तरण गरेकी कास्कीकी सन्ध्या सुवेदी, पत्रकार दुर्गा रानामगर, खेलाडी नारायणी भण्डारी, समाजसेवी सुदीश पुन, युवा उद्यमी प्रतीकराज पहारी र नवज्योति सुवेदी छन् ।
यी युवाहरुको कामले पोखरालाई योगदान गरेको मात्रै नभई अरु थुप्रै युवालाई नेपालमै केही गर्न सकिन्छ भन्ने प्रेरणा दिएको मेयर आचार्यले बताए । महानगर युवा परिषद अध्यक्ष सन्तोष न्यौपानेले युवाहरुको सत्कर्मलाई पुरस्कृत गर्न पाउनु नै गर्वलायक काम भएको विचार राखे ।
प्रतिभा छनोट समिति संयोजक प्राडा भीमनाथ बरालले धेरै क्षेत्रका नमुना युवाहरुको खोजी छोटो समयमा गरिएको र कतिपयको कर्म स्थलगत अनुगमनबाट समेत गरिएको जानकारी दिए । युवा प्रतिभा छनोट गर्न परिषदले प्राडा बरालको संयोजकत्वमा ५ सदस्यीय छनोट समिति गठन गरेको थियो । समिति खेलकुदकर्मी तेज गुरुङ, उद्यमी विक्रम कर्मचार्य, अपांगता अधिकारकर्मी अन्जना केसी र पत्रकार केशवशरण लामिछाने थिए ।