सुचना, समाचार र मनोरन्जन
jaar

पोखरा र दमक उवा संघबीच सहकार्यको सहमति

पोखरा :

पोखरा उद्योग वाणिज्य संघ र दमक उद्योग वाणिज्य संघबीच उद्यमशिलता विकास एवं निजी क्षेत्रका अधिकार रक्षाका लागि सहकार्य गर्ने सहमति बनेको छ। झापाको दमक नगर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलको स्वागतमा पोउवा संघले आयोजना गरेको छलफल कार्यक्रममा सो सहमति जुटेको हो।

छलफल कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोकुल श्रेष्ठले महासंघले जिल्ला–नगरमा रहेका व्यवसायीहरुको पक्षमा प्रभावकारी काम नगरेको स्वीकारे । उनले महासंघको नेतृत्वलाई जिल्ला–नगर उद्योग वाणिज्य संघहरुले दवाब दिनुपर्ने उनको भनाइ थियो। उनले कम्तिमा मेला र महोत्सव आयोजनाको जिम्मेवारी संघहरुलाई दिनुपर्ने बताए।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको निजी क्षेत्रको एउटै समस्या भएको उल्लेख गर्दै समस्या समाधानको लागि एकता हुनुपर्नेमा जोड दिए। पोखरा उद्योग वाणिज्य संघले हालसम्म गरेका कामहरुबारे जानकारी दिँदै उनले निजी क्षेत्रले गरेका असल अभ्यासहरुलाई सबैले पच्छ्याउनुपर्ने धारणा राखे।

त्यस्तै, दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद भट्टराईले पनि महासंघले साना व्यवसायीको समस्या नसुनेको गुनासो गरे। अध्ययन अवलोकन भ्रमणले नयाँ कुरा सिक्ने मौका मिलेको उनको भनाइ थियो। पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमको संचालन रहेको छलफलमा दुबै उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले विभिन्न जिज्ञासाहरु राखेका थिए।

Leave A Reply

Your email address will not be published.