काठमाडौं :
‘दान्भी’ निर्देशन गरेका रुपेश तामाङले आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन्। उनले शुक्रबार फिल्म ‘एक्का तीन’ पोस्टर रिलिज गर्दै फिल्मको घोषणा गरेका हुन्। उनले फिल्मको पोस्टर रिलिज गर्दै फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने समेत जानकारी दिएका छन्।
सुमन गजमेरको लेखनमा तयार हुने फिल्मलाई एक्सन र सस्पेन्स जनरामा निर्माण गरिनेछ। जुना फिल्मस्को प्रस्तुतिमा बन्न लागेको फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको छ, जसमा हेलिकप्टर र ठूलो विस्फोट देखाइएको छ। पोस्टरमा तीन जना पात्रलाई देखाइएको छ, जसमा दुई पुरुष र एक महिला छन्।
यस फिल्मका लागि निर्माण पक्षले अभिनेत्री पूजा शर्मा अनुबन्धित गरिसकेको छ। पूजाको जन्मदिनको दिन उनलाई निर्देशक तामाङले फिल्मको मुख्य भूमिकामा पक्का गरेका थिए। तर बाहिर उनीहरुले भने नाम सार्वजनिक गरेका थिएनन्। पूजा बाहेक अन्य मुख्य कलाकारहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन।
‘एक्का तीन – च्याप्टर १’ नाम दिइएकाले यो फिल्मको दोस्रो सिरिज समेत निर्माण हुने बुझिन्छ। पोस्टर हेर्दा फिल्ममा बलियो कथा, गहिरो सस्पेन्स र नयाँ शैलीको एक्सन समेटिनेछ।
निर्देशक तामाङले अघिल्लो फिल्ममा भएका कमजोरीहरूलाई सुधार्दै यो फिल्म निर्देशन गरिने बताएका छन्। हाल फिल्मको प्रि(प्रोडक्सनको काम तीव्र गतिमा चलिरहेको निर्माण पक्षको भनाई छ। यो फिल्मको कहिलेबाट सुटिङ सुरु गरिने हो त्यो भने निर्माण पक्षले खुलाएको छैन।