सुचना, समाचार र मनोरन्जन

नवनिर्वाचित केन्द्रीय सदस्य हीरा भट्टराईलाई पोउवा संघको शुभकामना

पोखरा,

पोखरा उद्योग वाणिज्य संघले नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय सदस्य हीरा भट्टराईलाई सोमबार बधाइ ज्ञापनसहित कार्यकालको सफलताको कामना गरेको छ ।

पोखरा उद्योग वाणिज्य संघकी पूर्वउपमहासचिव तथा हाल साधारण सदस्य रहेकी भट्टराई यही वैशाख २१ र २२ गते सम्पन्न ६० औं वार्षिक साधारण सभाबाट महिलातर्फ केन्द्रीय सदस्य निर्वाचत भएकी हुन् । पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमका अनुसार भट्टराई पोखरा उद्योग वाणिज्य संघको तर्फबाट केन्द्रीय सदस्यको प्रत्यासी बनेकी थिइन् ।

नवनिर्वाचित केन्द्रीय सदस्य भट्टराईलाई बधाइ ज्ञापन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले मातृ संस्थाको गरिमामय इतिहासलाई नबिर्सन र निजी क्षेत्रको हितका लागि निरन्तर क्रियाशील रहन आग्रह गरे । २०२२ सालमा नेपाल उद्योग वाणिज्य महासंघको स्थापना हुँदा नै पोखरा उद्योग वाणिज्य संघको तर्फबाट त्रैलोक्यनाथ श्रेष्ठले उपाध्यक्षको भूमिका निभाउनु भएको प्रसंगबाट आफ्नो भनाइ सुरु गरेका अध्यक्ष कार्कीले त्यसपछि विभिन्न कालखण्डमा पोखराको तर्फबाट महासंघमा भएको प्रतिनिधित्व तथा पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अध्यक्षको रुपमा सम्पादन गर्नुभएको कार्यकालको पनि स्मरण गर्दै अगाडि भने,‘यो गर्विलो इतिहासलाई हामीले भुल्नु हुँदैन ।’

कार्यक्रममा बोल्दै नवनिर्वाचित केन्द्रीय सदस्य हीरा भट्टराईले मातृ संस्थाको गरिमा बढाउन र निजी क्षेत्र अनि खासगरी महिला उद्यमशीलता विकासका निम्ति काम गर्ने प्रतिवद्धता जनाइन् । पोखरा उद्योग वाणिज्य संघमा साधारण सदस्यको रुपमा भएको प्रवेश र त्यसपछि महिला उद्यमशीलता विकासका निम्ति खेलेको भूमिकाको स्मरण गर्दै उनले आफूलाई केन्द्रीय सदस्यको रुपमा अगाडि सारेकोमा संघको नेतृत्वलाई धन्यवाद ज्ञापन गरिन् । संघकी महासचिव शोभा गौतमको संचालन रहेको सो कार्यक्रममा कोषाध्यक्ष मनोजकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.