सुचना, समाचार र मनोरन्जन

पोउवा संघमा उत्तममान बुद्धाचार्यको स्वतन्त्र उम्मेदवारी, ‘विधानअनुसार संघ चलाउँछु’

पोखरा,

पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा विभिन्न पदमा रहेर वरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालेका उत्तममान बुद्धाचार्यले संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

आइतबार पोखरामा आयोजित प्रतिबद्धता पत्र सार्वजनिक तथा पत्रकार सम्मेलनमा बुद्धाचार्यले आफू लामो समयदेखि व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय रहेको अनुभवलाई संघको नेतृत्वमा उपयोग गर्ने बताए। उनले सबै क्षेत्रका उद्योगी–व्यवसायीलाई समेट्दै संघलाई विधान र संस्थागत प्रणालीअनुसार सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

पत्रकारले यसअघिको निर्वाचनमा प्यानलबाट प्रतिस्पर्धा गरेका बुद्धाचार्य यसपटक बिना प्यानल अध्यक्ष पदमा उम्मेदवार बन्नुको आधारबारे प्रश्न गरेका थिए। जवाफमा उनले समूहमा विभिन्न व्यक्तिको भूमिका र प्रभाव हुनु स्वाभाविक भए पनि नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ्ने स्पष्ट पारे।

‘जितेर आए पनि उही साथीहरूसँग काम गर्ने हो। जो साथीहरू आउनुहुन्छ, उहाँहरूलाई सँगै लिएर त्यही टिम बनाएर काम अगाडि बढाउने हो,’ उनले भने।

बुद्धाचार्यले आफू २०४१ सालदेखि निरन्तर व्यवसायमा संलग्न रहेको र विभिन्न सामाजिक संस्थामार्फत समेत काम गर्दै आएको उल्लेख गरे। लामो व्यावसायिक तथा संस्थागत अनुभवका आधारमा व्यवसायीले भोगिरहेका समस्या आफूले नजिकबाट बुझेको उनको भनाइ छ।

‘अब मलाई संघमा पर्याप्त समय दिने अवस्था छ। व्यवसायमा समय दिँदा मैले व्यवसायीका समस्या आफैं भोगेको र बुझेको छु। ती समस्यालाई समाधानका लागि सम्बन्धित निकायसम्म लैजाने माध्यम संघ हो,’ उनले भने।

संघको वरिष्ठ उपाध्यक्षका रूपमा बिताएका दुई वर्ष आफूले जिम्मेवारीपूर्वक पूरा गरेको उल्लेख गर्दै बुद्धाचार्यले संघको नेतृत्व व्यक्ति केन्द्रित नभई विधान र संस्थागत प्रणालीमा आधारित हुनुपर्नेमा जोड दिए।

‘व्यक्ति केन्द्रित भए संस्था दिगो रहँदैन, विधानले संस्था चल्छ। मैले विधानले नै संस्था चलाउने हो,’ उनले भने।

बुद्धाचार्यले संघलाई व्यवसायीको साझा आवाज, भरोसायोग्य संस्था तथा प्रभावकारी नीतिगत पैरवीको केन्द्रका रूपमा विकास गर्ने बताए। संघ, प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर संवाद र सहकार्य गर्दै उद्योग–व्यवसायमैत्री नीति निर्माणका लागि पहल गर्ने उनको प्रतिबद्धता छ।

१७ बुँदे प्रतिबद्धता

बुद्धाचार्यले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा व्यवसायीका दैनिक समस्या समाधानदेखि प्रविधि, बजार विस्तार, पर्यटन, लगानी तथा स्थानीय उत्पादन प्रवर्द्धनसम्मका १७ बुँदा समेटिएका छन्।

उनका प्रमुख योजनामा व्यवसायीका लागि एकद्वार सहायता केन्द्र तथा विशेषज्ञ सहायता टिम, व्यवसायिक डेटा बैंक निर्माण, व्यवसायमा डिजिटल प्रविधि तथा एआईको प्रयोग, युवा, महिला तथा स्टार्टअप उद्यमशीलता प्रवर्द्धनलगायत विषय छन्।

त्यस्तै, स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न ‘लोकल टु ग्लोबल’ अभियान तथा पोखरामा उत्पादित वस्तु तथा सेवाको प्रयोग र खरिद बढाउन ‘बाइ पोखरा’ अभियान सञ्चालन गर्ने योजना अघि सारिएको छ।

व्यवसायीको मौज्दात व्यवस्थापन तथा बिक्रीमा सहयोग पुर्‍याउन ‘मिड इयर सेल’, व्यवसायीको सीप तथा क्षमता विकास, पर्यटन तथा लगानी प्रवर्द्धन, खेल पर्यटन र ‘ग्रेटर पोखरा’ अवधारणालाई समेत उनले प्राथमिकतामा राखेका छन्।

‘व्यवसायीको सम्मान, संस्थाको सुदृढीकरण र पोखराको समृद्धि’लाई मूल ध्येय बनाएका बुद्धाचार्यले संघलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री तथा परिणाममुखी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन भदौ २० र २१ गते हुँदैछ। महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदका उम्मेदवारहरूको चुनावी गतिविधि पनि तीव्र बन्दै गएको छ।

Leave A Reply

Your email address will not be published.