पोखरा,
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित शोभा गौतमले पदभार ग्रहण गरेकी छन् । गौतमले जिम्मेवारी सम्हालेसँगै नयाँ कार्यसमितिले औपचारिक रूपमा कार्यभार सुरु गरेको छ ।
पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा पहिलोपटक महिला अध्यक्षका रूपमा गौतमको आगमनलाई निजी क्षेत्रले अर्थपूर्ण रूपमा हेरेको छ । व्यवसायीका समस्या समाधान, निजी क्षेत्रमैत्री नीति निर्माण र संघलाई थप प्रभावकारी बनाउने विषयलाई उनले आफ्नो प्राथमिकतामा राख्दै आएकी छन् ।
३६औँ महाधिवेशनमा अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएकी गौतमले व्यवसायीको साझा आवाजलाई बलियो बनाउने, बजार व्यवस्थापन तथा व्यवसायिक वातावरण सुधार गर्ने र राज्यका निकायसँग निजी क्षेत्रको सहकार्यलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकी थिइन् ।
नयाँ नेतृत्वसँगै संघले पोखराको निजी क्षेत्रका तत्कालीन समस्या समाधानका लागि नीतिगत पैरवीलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ । व्यवसाय सञ्चालनमा देखिएका कठिनाइ, कर तथा नीतिगत समस्या, बजार व्यवस्थापन र लगानीको वातावरण सुधार संघका प्रमुख एजेन्डा बन्नेछन् ।
अध्यक्ष गौतमले निजी क्षेत्रलाई नियन्त्रणभन्दा सहजीकरण आवश्यक रहेको बताउँदै व्यवसायीका समस्या सरकारसमक्ष प्रभावकारी रूपमा उठाउने धारणा राख्दै आएकी छन् ।
नयाँ कार्यसमितिले आगामी कार्यकालमा संघलाई व्यवसायीको साझा मञ्चका रूपमा थप सुदृढ गर्दै पोखराको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका बढाउने चुनौती पाएको छ ।
महिला नेतृत्वमा पुगेको पोखरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिबाट व्यवसायीले अब सबल व्यवसाय, व्यवस्थित बजार र समुन्नत संघको अपेक्षा गरेका छन् ।