सुचना, समाचार र मनोरन्जन

विदेशमा संघर्ष, घरमा पीडा : ‘पीआर’ फिल्मको टिजरले देखायो प्रवासी यथार्थ

काठमाडौं :

पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा कलाकारहरूको अत्यधिक पारिश्रमिकबारे बहस चलिरहेका बेला निर्देशक शोभित बस्नेतले सो विषयमा स्पष्ट र चर्को अभिव्यक्ति दिएका छन्।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘पीआर’को टिजर सार्वजनिक कार्यक्रममा निर्देशक बस्नेतले कलाकार र निर्माण पक्षबीचको भूमिकाको सन्तुलनबारे गहिरो प्रश्न उठाएका छन्।

उनले भने,‘अहिले कलाकारहरू यति महँगा भएका छन् कि पारिश्रमिक ५० देखि ६० लाख रुपैयाँसम्म पुगेको छ। यस्तो रकम लिने कलाकारहरूले आफूले रोजेको निर्देशक, मेकअप आर्टिस्ट, क्यामेराम्यान, सहायक निर्देशकलगायत सम्पूर्ण प्राविधिक टिम आफैँ ल्याउन सकून्। अनि फिल्म चलेको जिम्मेवारी पनि उनीहरूले लिन सकून्। त्यस्तो हो भने हामी जति खर्च भए पनि लगानी गर्न तयार छौँ।’

Chaka Panja

उनको यो भनाइले कलाकार र निर्मातारनिर्देशकबीचको दायित्व र पारिश्रमिक सन्तुलनको विषयमा नयाँ बहसको ढोका खोलेको छ।

त्यसै कार्यक्रममार्फत सार्वजनिक गरिएको टिजरमा अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको जीवनसंघर्ष, स्वदेशमा बसेका अभिभावकहरूको पीडा, र प्रवासमा बित्ने मनोवैज्ञानिक दबाब समेटिएको छ।

यस फिल्ममा आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायलको अभिनय रहेको छ। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसीको अभिनय पनि दर्शकले हेर्न पाउने छन्।

यस फिल्मको कथा तथा निर्देशन शोभित बस्नेतले नै गरेका हुन्। निर्माता प्रदीप दाहाल (ए वान ग्रुप सर्भिस) र लक्ष्मण सापकोटा (इन्द्रेणी ग्रुपं) हुन्। ‘पीआर’को छायांकन अष्ट्रेलियाका विभिन्न शहरहरूमा ६० प्रतिशत र नेपालमा ४० प्रतिशत गरिएको निर्देशक बस्नेतले बताए। फिल्ममा मानस राज र भीम बिसीको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, गणेश बुढाथोकीको पटकथा तथा संवाद, सौरभ सायमी (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल)को छायांकन तथा बन्दे प्रसादको सम्पादन रहेको छ।

रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ मुख्य सहायक निर्देशकका रूपमा छन्। निर्माण व्यवस्थापन केवल मानसिंह बस्नेतले सम्हालेका छन्। निर्माण पक्षका अनुसार यो फिल्म यसै महिनाको अन्त्यबाट अष्ट्रेलिया र न्यूजिल्यान्डका प्रमुख शहरहरूमा प्रदर्शनमा ल्याइनेछ भने दसैंको आसपासमा विश्वव्यापी रूपमा रिलिज गरिने योजना रहेको छ। फिल्मको वितरण जिम्मा आरआर फिल्म्सले लिएको छ।

Leave A Reply

Your email address will not be published.