सुचना, समाचार र मनोरन्जन

प्रदीप खड्काको ‘एक्लो’ अन्तर्राष्ट्रिय बजारमा, मध्यपूर्व रिलिज पक्का

काठमाडौं :

अभिनेता प्रदीप खड्का अन्तर्राष्ट्रिय बजारमा नेपाली सिनेमा चिनाउने प्रयासमा फेरि एकपटक केन्द्रमा आएका छन्। उनले अभिनयसँगै निर्माणमा समेत संलग्न रहेको साइन्स फिक्सन फिल्म ‘एक्लो’ नेपाल प्रदर्शनको एक सातापछि मध्यपूर्वका तीन देशमा रिलिज हुने भएको छ।

प्रदीप खड्का निर्माता रहेको ‘एक्लो’ पुष २४ गतेदेखि यूएई, कतार र बहराइनमा प्रदर्शन हुँदैछ। यी देशहरूमा फिल्मको वितरण साथीभाइ इन्टरटेनमेन्टले गर्नेछ। वितरक हरि मोक्तानका अनुसार सार्वजनिक ट्रेलरले दर्शकमा चासो बढाएकाले मध्यपूर्व बजारमा फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।

यसअघि, पुष १७ गते बाट नेपालमा प्रदर्शन हुन लागेको ‘एक्लो’को आइतबार अमेरिकाको न्युयोर्कस्थित म्युजियम अफ द मुभिङ इमेजमा प्रिमियर हुँदैछ। हलिउडका चर्चित कलाकार ब्राड पिट, लियोनार्डो डिक्याप्रियो, टम ह्याङ्क्ससँग सम्बन्धित स्क्रिनिङ आयोजना हुँदै आएको उक्त प्रतिष्ठित स्थलमा पहिलो पटक नेपाली फिल्मको प्रिमियर हुन लागेको हो। यसलाई प्रदीप खड्काको करिअर र नेपाली सिनेमाका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा प्रदीप खड्का, बेनिशा हमाल, कविता नेपाली, विजय लामा, सुनिल थापा, दीया पुन, दिनेश डिसी, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई र बेलायती अभिनेता जेमी बेकनलगायतको अभिनय रहेको छ। एनआरएन समूहको लगानी रहेको यस फिल्ममा प्रदीप खड्का स्वयं निर्माता पनि हुन्।

विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता रहेको ‘एक्लो’को छायांकन बाबु श्रेष्ठले गरेका छन्। सम्पादन रुपेश तामाङ, संगीत रोहित शाक्य र द्वन्द्व निर्देशन राजु तामाङले सम्हालेका छन्।

यसअघि ‘एक्लो’को प्रचार फ्रान्सको कान्स फिल्म फेस्टिभलमा स्टल राखेर गरिएको थियो, जुन कान्समा स्टल राख्ने पहिलो नेपाली फिल्म हो। अभिनय र निर्माण दुवै मोर्चाबाट प्रदीप खड्काले अन्तर्राष्ट्रिय तहमा नेपाली सिनेमा विस्तार गर्ने प्रयासलाई यस फिल्मले थप बल दिएको विश्लेषकहरूको भनाइ छ।

Leave A Reply

Your email address will not be published.