काठमाडौं :
गायक तथा नायक प्रकाश सपुत बेला बेलामा विवादमा परिरहन्छन्। आफ्ना गीतका सिर्जनामा विवादित क्लिप राख्दै गीतलाई चर्चामा ल्याउने गरेको आरोप उनलाई लाग्दै आएको थियो। तर, फेरि उनलाई चार महिनाअघिको म्युजिक भिडियोले तनाव दिएको छ।
जीवित देवी कुमारीले वसन्तपुरमा प्रयोग गर्ने भनिएको इनारमाथि उभिएर सपुतले ‘कमाउनी नी हो, रमाउनी नी हो‘’ गीतको छायांकनमा नाचेको दृश्य सामाजिक संजालमा भाइरल भएपछि उनी विवादमा तानिएका हुन्।
यो विवादमा सपुतले आफ्नो गल्ती भएको भन्दै माफी समेत मागिसकेको अवस्था छ। उनले माफी मागे पनि उनीमाथीको गाली गलौज नरोकिएपछि म्युजिक भिडियोको निर्माता कम्पनी शुभारम्भ डिजिटल म्युजिक प्रालिले पनि गल्तीप्रति माफी मागेको छ। उसले माफी माग्दै उक्त दृश्य आधिकारिक भिडियोमा प्रयोग नभएको समेत दावी गरेको हो।
बुधबार विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ, ‘सामाजिक संजालमा देखाइएकोजस्तो दृश्य हाम्रो च्यानलमा रहेको आधिकारिक भिडियोमा प्रयोग नभएको कुरा समेत जानकारी गराउँदछौं । हाम्रो उद्देश्य कसैको आस्था, प्रथा, परम्परा र संस्कृतिप्रति अहित हुने कार्य गर्नु होइन । अन्जानमा भएको कार्यबाट कसैमा आँच पर्न गएको भए हामी क्षमाप्रार्थी छौं ।’