काठमाडौं :
बहुप्रतिभाका धनी गायक प्रकाश सपुतको परिचय एउटा मात्र छैन। उनी गायक,सङ्गीतकार, गीतकार, अभिनेताहुँदै निर्देशकका रूपमा दर्शकमाझ आएका छन्। लोक तथादोहोरी गीतमार्फत आफुलाई स्थापित गरेका सपुतले आफै फिल्ममा होमिएका छन्।
यसअघि फिल्म ‘परदेशी २’ र ‘पुर्णबहादुरको साराङ्गी’मा अभिनय गरेका उनले दुवै फिल्म हिट भए। पछिल्लो समय केहि फिल्ममा समेत अनुबन्ध भएका सपुतले आफ्नै लेखन तथा निर्देशनमा बनेको फिल्म ‘वसन्त’चैतको २२ गतेबाट प्रदर्शनमा आउन लागेको छ।
शनिबार दरबारमार्गस्थित राइजिङ मलको हलमा उनी निर्देशित पहिलो फिल्म ‘वसन्त’मा समावेश पहिलो गीत ‘साँझ पर्यो झमक्कै’को गीतको भिडियो रिलिज गरिएको थियो। उक्त कार्यक्रममा उपस्थित भएका गायक सपूतलाई आफैले निर्देशन र अभिनय गर्दा कतिको सहज हुने रैछ भन्ने प्रश्न गरिएको थियो। उनले यसको जवाफमा निकै कठिन भएको र अबका दिनमा कि त अभिनय कि त निर्देशनको मात्रै जिम्मा लिने बताए।

पत्रकारको जवाफमा उनले भने, ‘आफैले सबै काम गर्दा गाह्रो नै हुनेरहेछ । विशेषतः निर्देशन र अभिनय एकैपटक गर्दा दुवैमा ऊर्जा बाँडिएको महसुस भयो । त्यसैले आउँदो चलचित्रमा म निर्देशक भएमा आफ्नो दृश्यलाई निकै कम राख्छु, नत्र सुनिल विकलाई निर्देशनको जिम्मेवारी दिन्छु र म अभिनयमा मात्र केन्द्रित हुन्छु । किनकि मेरै पछिल्ला कामभन्दा कमजोर नहोस् भन्ने मेरो प्रयास रहन्छ।’
उनले निर्देशन र अभिनय एक साथ गरिरहेका निश्चल बस्नेत, अर्पण थापालगायतसँग पनि छलफल गरेको सुनाए। उनीहरुले आफुलाई दुवै काम गर्दा इन्जोइ गर्न नपाउने र बढि खटिनुपर्ने कुरामा सुझाव दिएको बताउदै आगामी दिनमा एउटा मात्र विधा समात्ने बताए।
पत्रकारले फेरि सोधेँ तपाईको गीतहरुमा आफ्नै कथा भनिरहनु भएको थियो। त्यहि कथामा किन फिल्म निर्माण गर्नु पर्यो भन्ने प्रश्नमा उनले थपे,‘भोगाइ, देखाइसहितका आफ्ना कथा गीतमार्फत व्यक्त गरिरहेको थिएँ । मलाई ती कथा गीतमै सकाउँछु कि भन्ने लाग्यो। त्यही भएर चलचित्र बनाउने योजनालाई मूर्तरुप दिएको हुँ। यो मजस्ता धेरै मध्यमवर्गीय युवाको कथा हो।’
यस फिल्ममा प्रकाश सपुतलाई उनका भाईले निर्देशनमा सहयोग गरेका थिए। यो फिल्ममा उनी सहित स्वस्तिमा खड्का,प्रभात पाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायतका कलाकारले अभिनय गरेका छन्।