पोखरा,
दुर्घटना तथा अन्य विपद्का घटनामा घाइतेको तत्काल उपचारमा सहयोग पुर्याउने उद्देश्यले नेपाल शैक्षिक परामर्श संघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई २७ थान प्राथमिक उपचार बक्स हस्तान्तरण गरेको छ।
२०८३ असोज २७ गते जिल्ला प्रहरी कार्यालय कास्कीको सभाहलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष ओमप्रकाश गैह्रेको नेतृत्वमा उक्त सामग्री हस्तान्तरण गरिएको हो। प्रहरी उपरीक्षक नवीन कार्कीको प्रमुख उपस्थितिमा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी तथा प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।


घटनास्थलमा सबैभन्दा पहिले पुग्ने प्रहरीलाई घाइतेको प्राथमिक उपचार गर्न सहज बनाउने र सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्राथमिक उपचार सामग्री उपलब्ध गराइएको संघले जनाएको छ।
सामग्री हस्तान्तरणपछि प्रहरी उपरीक्षक कार्कीले प्राप्त प्राथमिक उपचार बक्स प्रहरीका सवारी साधनमा राखिने बताउनुभयो। विशेषगरी दुर्गम क्षेत्रमा हुने दुर्घटना तथा अन्य घटनामा तत्काल खटिने प्रहरीले घटनास्थलमै घाइतेको प्राथमिक उपचार गर्न र पीडा तथा थप क्षति कम गर्न यी सामग्री उपयोगी हुने उहाँको भनाइ थियो।
प्रहरी उपरीक्षक कार्कीले प्रहरीको कार्यसम्पादनमा सहयोग पुग्ने गरी प्राथमिक उपचार सामग्री उपलब्ध गराएकोमा नेपाल शैक्षिक परामर्श संघ कास्कीप्रति धन्यवाद व्यक्त गर्नुभयो।
प्रहरीलाई आवश्यक प्राथमिक उपचार सामग्री उपलब्ध गराउँदा दुर्घटना तथा आपत्कालीन घटनामा घाइतेलाई समयमै प्रारम्भिक उपचार प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
