काठमाडौँ :
चलचित्र ‘प्रेम अध्याय’ अमेरिकाको टेक्ससस्थित ड्यालसमा विशेष प्रदर्शन गरिएको छ। निर्माण पक्षका अनुसार विशेष शो इर्भिङ मलस्थित एएमसी थिएटरको अडिटोरियममा प्रदर्शन गरिएको हो।

आइतबार भएको विशेष प्रदर्शनमा चलचित्र ‘प्रेम अध्याय’ का कलाकार सरोज खनाल र रामशरण चौधरीको उपस्थिति रहेको थियो। प्रेम र सम्बन्धका भावनात्मक पक्षसँगै एक्सनलाई समेत समेटिएको चलचित्रले फरक स्वाद दिएको भन्दै दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्।
चितवनका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यस चलचित्रको मुख्य भूमिकामा रामशरण चौधरी र ऋचा थापा छन्। उनीहरूसँगै सरोज खनाल, मुकुन्द श्रेष्ठलगायत कलाकारले पनि अभिनय गरेका छन्।
किशोर चौधरीको लेखन तथा निर्देशनमा बनेको चलचित्रका निर्माता किरण चौधरी हुन् भने छायांकन विष्णु परियारले गरेका छन्। निर्माण नियन्त्रकको जिम्मेवारी मेसमान श्रेष्ठ र प्रणवले सम्हालेका छन्। चलचित्र ‘प्रेम अध्याय’ छिट्टै नेपालमा पनि रिलिज गर्ने तयारी रहेको निर्माण टिमले जानकारी दिएको छ।