काठमाडौं :
हरिवंश आचार्य अभिनित फिल्म ‘पाँच पाण्डव’ बक्स अफिसमा कमजोर देखिएको छ। सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार फिल्मको व्यापार दयनिय बनेको हो।
कात्तिक २० गतेबाट प्रदर्शनमा आएको यो फिल्मको १० दिनको ग्रस कलेक्सन ४३ लाख ५० हजार ४८३ रुपैयाँ पुगेको छ। पहिलो १० दिनको कमाइ ५० लाख रुपैयाँ पनि नपुगेको यो फिल्मका दर्शक आइतबारसम्म १२ हजार २९४ जना मात्रै पुगेका छन्। बसन्त निरौलाको निर्देशनमा निर्माण भएको यस फिल्ममा हरिवंश आचार्यका अलवा दीपाश्री निरौला,जितु नेपाल,आर्यन सिग्देल,महेश त्रिपाठी,इभा गिरी,सुशील सिटौला लगायको अभिनय रहेको छ।
यता दसैंको फुलपातीभन्दा एक दिनअघि प्रदर्शन भएका फिल्ममा ‘आ बाट आमा २’ले २ लाख ४१ हजार ९६ वटा टिकट बिक्री गर्दै ६ करोड ९१ लाख ३७ हजार ३१२ रुपैयाँ ग्रस कमाएको छ। यो फिल्मको अघिल्लो पार्टले १३ करोडमाथीको व्यापार गरेको थियो। यस फिल्ममा पुरानै कलाकार विपना थापा,प्रदीप रावत,पल शाह लगायतको अभिनय छ। फिल्मलाई लगानी तथा निर्देशन चन्द्र पन्तले गरेका हुन्।

यता असोज ३१ गतेबाट प्रदर्शनमा आएको अको फिल्म ‘छ माया छपक्कै २र्’३ करोड ४३ लाख १७ हजार ४५ रुपैयाँ ग्रससहित दसैंमा प्रदर्शनमा आएको फिल्ममध्ये दोस्रो कमाई गर्ने बनेको छ। दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको यस फिल्ममा दीपकराज गिरी,दीपाश्री निरौला,केकी अधिकारी,सनिशा भट्टराई लगायतले अभिनय गरेका छन्। फिल्मलाई रोहित अधिकारीले लगानी गरेका हुन्।
साथै असोज ३० गतेबाट नै प्रदर्शनमा आएको फिल्म‘१२ गाउँ २’ले २ करोड ३२ लाख ९६ हजार ३७१ रुपैयाँ ग्रस गरेको छ। विराज भट्टको निर्देशनमा निर्माण भएको यस फिल्ममा समिर भट्ट,कृशु शाही,सुरक्षा इटानी सहितका कलाकारहरुले अभिनय गरेका छन्। यो फिल्मको अघिल्लो भागले २० करोड ग्रस कलेक्सन गरेको थियो भने समिर भट्टलाई एक्सन हिरोको रुपमा समेत स्थापित गरेको थियो।
दयाहाङको दबदबा कायमै
यो वर्ष दयाहाङ राईकोमुख्य भुमिका रहेका दुई वटा फिल्मले १० करोडमाथीको व्यापार गरेका छन्। यहीँ कात्तिक ६ गते प्रदर्शन भएको फिल्म ‘कबड्डी ५’को व्यापार भने झन्डै १३ करोड हाराहारी व्यापार गरेको छ। बोर्डको तथ्यांकअनुसार फिल्मले २९ कात्तिकसम्म १२ करोड ९४ लाख १५ हजार ४३७ रुपैयाँ ग्रस गर्दै पछिल्लो समयको सर्वाधिक कमाई गर्ने फिल्ममा आफुलाई राखेको छ। यो फिल्मले हिजो आइतबारसम्म ४ लाख २२ हजार ८८० वटा टिकट बिक्री भएका छन्। रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको यस फिल्ममा दयाका अलवा विजय बराल,सिर्जना गुरुङ,मिरुना मगर,बुद्धि तामाङ,माओत्से गुरुङ लगायतको अभिनय छ।
दयाहाङकै ‘कबड्डी ५’पछि दोस्रो ठूलो व्यापार ‘पेन्सन पट्टा’को रहेको छ। गत भदौ २६ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले हिजो आइतबारसम्म १० करोड ३५ लाख ७८ हजार ४७८ रुपैयाँ ग्रस कमाइ गरेको छ। अहिलेसम्म यो फिल्म हेर्नेको संख्या ३ लाख ६४ हजार ५२० जना पुगेका छन्। यो फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङका अलवा गौमाया गुरुङ,पशुपति राई,विजय बराल,बुद्धि तामाङ लगायतको अभिनय रहेको छ। फिल्मको कथा निर्देशक गुरुङ आफैले लेखेका हुन।