पोखरा,
पोखरा महानगरपालिका वडा नं १२ स्थित अमरसिंह माध्यमिक विद्यालयको खेलमैदान अगाडि पृथ्वी राजमार्गसँग जोडिएको क्षेत्रमा रहेका व्यवसायिक सटर तथा टहरा हटाइएको छ ।
टिनका टहरा निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूले पोखरा महानगरपालिकाको रोहबरमा विद्यालयसँग समन्वय गरेर ती संरचना हटाएका हुन् ।
महानगरपालिकाले दिएको जेठ ४ गतेसम्मको समयसीमाभित्र व्यवसायीहरूले आफ्ना सामान सुरक्षित स्थानान्तरण गरेपछि खाली भएका संरचनाहरू मङ्गलवार जेसिवी प्रयोग गरी हटाइएको महानगरपालिकाले जनाएको छ । उक्त क्षेत्रमा सञ्चालनमा रहेका ५१ वटा व्यवसायिक सटर व्यवसायीहरू आफैले महानगरपालिका र विद्यालयको आग्रह स्वीकार गर्दै खाली गर्न सहमत भएका थिए ।

पोखराको मुख्य प्रवेश मार्गका रूपमा परिचित अमरसिंह क्षेत्रमा अव्यवस्थित टहराका कारण शहरी सौन्दर्यमा असर परेको भन्दै महानगरपालिकाले यसलाई प्राथमिकताका साथ अघि बढाएको थियो । टहरा हटाइएपछि पृथ्वी राजमार्ग आसपासको क्षेत्र खुला, व्यवस्थित र आकर्षक देखिन थालेको छ ।
नगर प्रमुख धनराज आचार्यले व्यवसायीहरूले महानगरपालिकाको शहरी सौन्दर्यीकरण अभियानमा साथ दिएको भन्दै धन्यवाद व्यक्त गरेका छन् । उनले लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूको पुनर्स्थापनाका विषयमा विद्यालयसँग आवश्यक छलफल तथा समन्वय गरिने जानकारी दिए।
महानगरपालिकाले पोखराका मुख्य सडक तथा सार्वजनिक क्षेत्रलाई व्यवस्थित, सुरक्षित र सौन्दर्ययुक्त बनाउने अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ ।