पोखरा,
पोखरा महानगरपालिकाले न्यूरोड क्षेत्रका फुटपाथ (सडकपेटी) मा हुने अनधिकृत पार्किङ हटाउने अभियानलाई तीव्रता दिएको छ । महानगरको वडा नम्बर ८ र ९ अन्तर्गत पर्ने न्यूरोड क्षेत्रमा पैदलयात्रीको सहजताका लागि सडकपेटी खाली गराउन थालिएको हो ।
नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाकाअनुसार फुटपाथ पैदलयात्रीका लागि मात्र भएकाले त्यहाँ सवारी साधन पार्किङ गर्दा आवागमनमा अवरोध पुग्ने र दुर्घटनाको जोखिम बढ्ने हुँदा यो कदम चालिएको हो । उनले महानगरपालिकाले तोकेका निश्चित स्थानहरूमा मात्र पार्किङ गर्न र अन्य क्षेत्रमा सवारी धनी स्वयंले व्यवस्थापन गर्नुपर्ने स्पष्ट पारे ।
महानगरले यो अभियान सुरु गर्नुअघि गत शुक्रवारदेखि आइतवारसम्म तीन दिन लगातार माइकिङ गरी नगरवासीलाई यसबारे जानकारी गराएको थियो । सूचनाको अवज्ञा गर्ने सवारी साधनमाथि आजदेखि कारबाही सुरु गरिएको छ । सोमवार मात्रै फुटपाथमा पार्किङ गरिएका ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको नगर प्रहरीले जनाएको छ ।
नगर प्रहरी निरीक्षक थापाले मङ्गलवारदेखि थप कडाइ गरिने बताए । अबका दिनमा फुटपाथमा पार्किङ गरिएको पाइएमा सवारी धनीलाई तत्काल सवारी साधन नबुझाइने र ती साधन नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय पठाई नियमानुसार कडा कारबाही गरिने उनको भनाइ छ । महानगरले सडकपेटी खाली गराई सडकमा हुने चाप र सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउन सम्पूर्ण सवारी धनी तथा नगरवासीलाई आग्रह गरेको छ ।