सुचना, समाचार र मनोरन्जन

अभिनेत्रीबाट निर्माता बनिन् प्रियंका, ‘मास्टर्नी’ छायांकन जारी

काठमाडौं :

नेपाली फिल्म क्षेत्रमा सक्रिय अभिनेत्री प्रियंका कार्की अब निर्माणको अर्को चरणमा उक्लिँदै फिचर फिल्म निर्माणमा जुटेकी छन्। वेब सिरिज ‘जस्ट एनदर लभ स्टोरी’ र सर्ट फिल्म ‘टाँक’ पछि उनले आफ्नो नयाँ फिल्म ‘मास्टर्नी’ मार्फत ठूलो पर्दामा निर्माता–अभिनेत्रीको रूपमा उपस्थित जनाएकी हुन्।

चैत १३ गतेदेखि छायांकन सुरु गरिएको फिल्मको प्रारम्भिक तीन दिन कास्की जिल्ला को एक गाउँमा सुटिङ गरिएको थियो। त्यहाँको चरण पूरा गरेर अहिले टिम काठमाडौं फर्किसकेको छ र बाँकी छायांकन यहीँ हुने तयारीमा छ।

फिल्ममा प्रियंका स्वयं मुख्य भूमिकामा छिन्। उनीसँगै गौरी मल्ल, ऋचा शर्मा, आर्यन सिग्देल, अनुप विक्रम शाहीप्रमोद अग्रहरी लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ। स्रोतका अनुसार फिल्ममा प्रियंकाको जोडी अनुप विक्रम शाहीसँग बाँधिएको छ।

आयंका फिल्म्सको ब्यानरमा निर्माण भइरहेको ‘मास्टर्नी’को निर्देशन बंगाली निर्देशक सुभेन्दु घोष ले सम्हालिरहेका छन्। उनले यसअघि अभिनेता जितु नेपाल लाई लिएर फिल्म ‘आइएम जितबहादुर’ निर्देशन गरेका थिए, जसमा प्रियंकाको पनि अभिनय थियो। सोही सहकार्यपछि प्रियंकाले आफ्नो फिल्मको निर्देशन सुभेन्दुलाई सुम्पने निर्णय लिएको बताइन्छ।

अनुभवी निर्देशक सुभेन्दुले सन् २००७ मा ‘अबेलय गरम भाट’ बाट निर्देशन यात्रा सुरु गरेका थिए। त्यसपछि उनले ‘भय’, ‘चेतोना’ जस्ता बंगाली तथा ‘चेज नो मर्सी टू क्राइम’ र ‘मै मुलायम सिंह यादव’ जस्ता हिन्दी फिल्म निर्देशन गरिसकेका छन्। उनले करिब ९ वर्षअघि ‘एभ्रिडे इज सनडे’ नामक नेपाली फिल्म पनि बनाएका थिए।

‘मास्टर्नी’मार्फत प्रियंका कार्कीले निर्माण र अभिनय दुवै क्षेत्रमा नयाँ अध्याय सुरु गरेकी छन्, जसले नेपाली फिल्म उद्योगमा उनको भूमिका अझ फराकिलो बनाउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.