कोदोको महत्व बुझाउन ‘कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ भन्ने नारासहित पोखरामा शनिबार विविध कार्यक्रमका साथ महोत्सव आयोजना गरी दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि विकास शाखाको सहयोगमा पोखरा २२ स्थित पुम्दीभुम्दी कृषि सहकारी संस्थाको आयोजनामा पोखरा २२ स्थित कोदीमा दिवस मनाइएको हो। दिवस मनाउन वडास्तरीय कृषि सञ्जाल २२ र ली बर्ड नेपालले समेत सहकार्य गरेका थिए।
कोदोबाट बनेका विभिन्न परिकार, स्थानीय उत्पादन तथा कृषि उद्यमसँग सम्बन्धित विभिन्न प्रदर्शनी, कोदो रोप्ने प्रतियोगिता, कोदो उत्पादक कृषकहरुलाई सम्मानसमेत गरिएको महोत्सवमा कृषक, कृषि उद्यमी, जनप्रतिनिधि, कृषिविज्ञ, सहकारीका प्रतिनिधि, सरोकारवाला निकाय तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
महोत्सवका अवसरमा १७ रोपनी क्षेत्रफलमा कोदोखेती गरेका पोखरा २२ का कृषक खगी घर्तीलाई १० हजार, ११ रोपनीमा कोदोखेती गरेका पोखरा २० का कृषक दुर्गाबहादुर सुनारलाई सात हजार, १० रोपनी क्षेत्रफलमा कोदोखेती गरेका पोखरा २८ का कृषक शोभा भण्डारीलाई पाँच हजार र नौ रोपनी क्षेत्रफलमा कोदो खेती गरेका पोखरा २३ का कृषक होमबहादुर गुरुङलाई नगद तीन हजार र सम्मान-पत्रसहित सम्मान गरिएको थियो।
महोत्सवको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले रैथाने बालीका रूपमा रहेको कोदो पछिल्लो समय हराउँदै गएकाले कोदोबालीको संरक्षण र प्रवर्द्धन गर्न दिवस मनाइएको बताए। कोदोखेतीको प्रवर्द्धन, खेती विस्तार तथा कृषकलाई प्रोत्साहन गर्न महानगरपालिका प्रतिबद्ध रहेको भनाइ उनको थियो ।
कोदो बालीको संरक्षण, प्रवर्द्धन र खेती विस्तार आजको आवश्यकता भएको भन्दै यसको उत्पादन वृद्धि, बजारीकरण र मूल्य अभिवृद्धिमार्फत कृषकको आय बढाउन महानगरपालिकाले आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । स्थानीय उत्पादनको उपयोग र उपभोग बढाउँदै खाद्य सुरक्षा तथा आत्मनिर्भर कृषितर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै आचार्यले कोदो कृषकहरूलाई समर्थन मूल्यसमेत प्रदान गरेका थिए।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले कोदोको खाद्य सुरक्षा र पोषणमा रहेको भूमिकाबारे किसान र उपभोक्तालाई जानकारी दिने उद्देश्यसहित आयोजना गरिएको महोत्सव कोदोको व्यावसायिक खेतीका लागि कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यसमेत रहेको बताए।
पोखराका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखरा नगर क्षेत्रमा तीन हजार आठ सय हेक्टर क्षेत्रफलमा कोदोखेती गर्ने गरिएको जानकारी दिए। वार्षिक रूपमा पोखरामा चार हजार आठ सय मेक्ट्रिक टन कोदो उत्पादन हुने बताउँदै बजारमा मागअनुसार बजारमा कोदो पुर्याउन भने नसकिएको बताए।
बजारमा माग बढिरहेको समय उत्पादन भने प्रत्येका वर्ष घट्दै गएकाले कोदोखेतीप्रति कृषकहरूको आकर्षण बढाउन महानगरले कोदोको न्यूनतम समर्थन मूल्यसमेत प्रदान गर्न सुरु गरेको जानकारी दिए। महानगरले कोदोको प्रतिकिलो ९० र काउनोको प्रतिकिलो एक सय २० रुपैयाँ समर्थन मूल्य तोकेको छ।
आयोजक सहकारीका अध्यक्ष खेमराज बरालले स्थानीयसँगै आसपासका कृषकहरूलाई कोदोखेतीका लागि आकर्षित गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए।
कोदोखेतीका लागि राम्रो सम्भावना भएको ठाउँ रहेको बताउँदै बरालले पोषण सुरक्षाका लागि कोदोको प्रयोग बढाउनसमेत कार्यक्रमले सहयोग गर्ने बताए। स्थानीय उत्पादनलाई बजारसँग जोड्नेसमेत यस्ता कार्यक्रम र दिवसले सहयोग गर्ने भनाइ उनको थियो।