सुचना, समाचार र मनोरन्जन
Sarangi

एक्टरले प्रदर्शन मिति सार्दा ‘पूर्णबहादुरको सारङ्गी’लाई फाइदा,चर्चा पनि काइदा

काठमाडौं :

यहि कार्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर’ र ‘पूर्णबहादुरको सारङ्गी’मध्ये एक्टरले प्रदर्शन मिति सारेपछि पुर्णबहादुरलाई फाइदा भएको छ। अहिले यो फिल्मको ट्रेलरले अधिकांशको मन जित्नुका साथै प्रशंसाा पनि बटुलिरहेको छ।

तिहारको लामो बिदा पारेर कात्तिक १५ गते रिलिज हुने गन्दर्व समूदायको कथा भनेको चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका छन्। त्यसैले पनि होला यो फिल्मको ट्रेलर युट्युबको ट्रेन्डिङ स्थानमा बस्न सफल भएको छ। यो समाचार तयार पर्दासम्म युट्युबको ट्रेन्डिङ नम्बर ६ मा रहेको छ भने अधिकांश कमेन्ट सकारात्मक रहेका छन्।

पुर्ख्यौली पेसा धानेर नेपाली संस्कार र संस्कृति बचाउँदा समाजले कसरी हेला गर्छ, माथि उठ्ने प्रयास गर्दा समाजका नवधनाढ्य तथा बुज्रुकहरूले नै कसरी दबाउने प्रत्यत्न गर्छन्, समाजसँग विद्रोह गर्नुभन्दा मौन बसेर जिन्दगीलाई दुःखकै सागरमा पूर्ववत् छोडिदिने अवस्थामा कसरी गन्दर्भ समुदायका अभिभावक पुग्छन् भन्ने कथा ‘पूर्णबहादुरको सारङ्गी’ले भन्ने संकेत ट्रेलरले देखाएको छ।

हजुरबाबाट बाबुमा सरेको सारङ्गीको जिम्मेवारी छोराले धान्छ या धान्दैन मूल कथा यसैको वरिपरि देखिन्छ । छोराले सारङ्गीको जिम्मेवारी लियोस् भन्ने चाहने अनि पढेर आफ्नो छोरा सारङ्गीसँगै आउने आर्थिक जर्जरताबाट मुक्त होस् भन्ने चाहने अर्को पुस्ताबीचको सोचको भिन्नता समेत ट्रेलरमा देखिन्छ।नेपाली फिल्म क्षेत्रका उम्दा कलाकारहरूको अभिनय रहेको ट्रेलरमा कलाकारहरूको जुन गेटअप देखिएको छ त्यसले यो चलचित्र वर्तमान समयको कथा हैन कि भन्ने देखाएको छ।

निर्देशक सरोज पौडेलले यी कलाकारको माध्यमबाट इमान्दारितापूर्वक कथा भन्ने प्रयास सिनेमाले गरेको देखिँदा यसले दर्शकको ध्यान खिच्न सफल भएको हो । दर्शकको ध्यान यसका कन्टेन टिजर, ट्रेलर, गीत र त्यसअघि यसको मोसन पोस्टरले नै खिचिसकेको थियो। यसका गीत र ट्रेलरमा आएको दर्शकको प्रतिक्रिया युट्युबमा हेर्दा पनि यसले राम्रो ब्यापार गर्ने पूर्वानुमान लगाउन सकिन्छ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ। सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यस फिल्मका लगानीकर्ता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्।सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथामा आधारित रहेको छ। महेश दवाडीले फिल्मको पटकथा तथा संवाद लेखेका छन् भने यसका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन्।

फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ । टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। यो फिल्मलाई नेपाल र अन्तरराष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ।

Leave A Reply

Your email address will not be published.