काठमाडौं :
फिल्म ‘पुर्ण बहादुरको साराङ्गी’का निर्माता र वितरकबीच कुरा नमिल्दा अन्तत फिल्म प्र्रदर्शनले निरन्तरता पाएको छ। शनिबार फिल्मका वितरक बिनोद पौडेलको टिमले हलवालाले अन्याय गरेको भन्दै सोमबारबाट फिल्मको प्रदर्शन रोक्ने चेतावनी दिएका थिए।
निर्माताले शोमा असन्तुष्टि जनाउँदै हलमा चलिरहेको फिल्म उतार्ने निर्णय लिइरहेका थिए।
गत तिहारको लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माताले ‘पुष्पा २’ प्रदर्शन भएपछि आफ्नो फिल्मको शोमा विभेद गरिएको आरोप लगाएका थिए।फिल्मका दुई वितरक कम्पनी टी–फोक फिल्मस् र ब्याङ्कटेस इन्टरटेनमेन्टले सबै हलहरुलाई इमेल पठाउँदै योजनाअनुसार नै प्रदर्शन अगाडि बढाउन आग्रह गरेपछि निर्माता बिनोद पौडेलले फिल्मको वितरण छान्दा होसियार हुनेपर्ने सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
वितरकबाट इमेल प्राप्त भएसँगै हलहरुले सोमबारका लागि शो उपलब्ध गराएका छन्। बिहीबारबाट प्रदर्शनमा आएको ‘पुष्पा २’का कारण ‘सारङ्गी’ न्यून शोमा खुम्चिएको थियो। सरोज पौडेलेको कथा तथा निर्देशनमा बनेको यो फिल्ममा विजय बराल,अञ्जना बराईली,मुकुन भुसाल,प्रकाश सपुत,बिनोद न्यौपाने लगायतका कलाकारहरुले अभिनय गरेका छन्। फिल्ममा आशिष अविरलको ‘रैया चाँदी’को गीत यतिबेला खुब चर्चामा रहेको छ