सुचना, समाचार र मनोरन्जन

‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’ असार २६ मा, जोन राईदेखि दिपक बज्राचार्यसम्मको प्रस्तुति

काठमाडौँ :

‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’ को ८औं संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। आम सङ्गीत पारखीहरूलाई समेटिने यस प्रतिष्ठित अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्डसँगै Xtreme Energetic Performer of the Year समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर कार्यक्रम ललितपुरको पुल्चोकस्थित द प्लाजामा हुने कार्यक्रमबारे विस्तृत जानकारी दिएको छ । कन्सर्टमा जोन एण्ड द लोकल्सदेखि दिपक बज्राचार्यसहित अन्य चर्चित कलाकारहरू उजन साक्य, समृद्धि राई, मन्त्र ब्याण्ड, शिव परियार, यमन श्रेष्ठ, सलिना बिक, सजिश श्रेष्ठ, कमेडियन प्रभात लामा र कर्मा सिङ लामाको प्रस्तुति रहनेछ।

यस वर्ष कुल १४ साङ्गीतिक विधामा अवार्ड दिइनेछ । अवार्ड प्रदान गरिने विधाहरूमा उत्कृष्ट नव गायक/गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायक र गायिका, उत्कृष्ट पार्श्व गायक र गायिका, उत्कृष्ट पप गायक र गायिका, उत्कृष्ट साङ्गीतिक समूह, उत्कृष्ट हिपहप र आर.एन.बि तथा उत्कृष्ट आधुनिक गायक र गायिका रहेका छन्।

त्यस्तै गीत सङ्गीतसहित कलाको क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका व्यक्तित्वलाई १ लाख रुपैयाँ राशिको लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । कार्यक्रममा स्रोताको समेत सहभागिता रहने पिपुल्स च्वाइस अवार्ड पनि रहनेछ । यसका लागि सहभागीले ई-सेवामार्फत भोट गर्नुपर्नेछ । सर्वाधिक भोट प्राप्त गर्ने गीत र स्रष्टालाई पिपुल्स च्वाइस अवार्ड प्रदान गरिनेछ।

२०८२ वैशाख १ गतेदेखि २०८२ चैत मसान्तसम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतहरूबाट विभिन्न विधाअन्तर्गत उत्कृष्टमध्ये ५ जनाको मनोनयनका लागि तीन जनाको जुरी बनाइएको थियो। विभिन्न विधाका मनोनयन सोही जुरीको निर्णयअनुसार गरिएको हो।

भव्य साङ्गीतिक महोत्सवको रूपमा रहने यस कार्यक्रममा सयभन्दा बढी कलाकारहरू सहभागी हुनेछन् । कान्तिपुर मिडिया ग्रुपका कर्पोरेट एण्ड इभेन्ट म्यानेजर सिम्रन श्रेष्ठले यो अवार्ड नेपाली सङ्गीत उद्योगको साझा थलो भएको बताउँदै यसले समग्र नेपाली सङ्गीतको प्रवर्धन गर्ने विश्वास व्यक्त गरिन्। कान्तिपुर पब्लिकेसनका चिफ मार्केटिङ अफिसर सागर केसीले यो अवार्ड नेपाली सङ्गीत उद्योगको साझा थलो भएको उल्लेख गरे ।

Leave A Reply

Your email address will not be published.