सुचना, समाचार र मनोरन्जन

मासिक दुई लाख आम्दानी गर्दै म्याग्दीका राजन

म्याग्दी,
यहाँको बेनी नगरपालिका–७ मङ्गलाघाटका २० वर्षीय राजन पौडेलले मङ्गलाघाटमा ‘बेनी क्लिन लन्ड्री’ सञ्चालन गरी मासिक रु दुई लाख आम्दानी गर्दै आएका छन । उनले मेसिनको सहायताले कपडा धुने कामबाट दैनिक दैनिक रु १० हजार बढी कमाइ गर्दै आएका हुन ।
वैदेशिक रोजगारीतर्फ युवाको आकर्षण बढिरहेका बेला जाँगर र आँट हुने हो भने गाउँमा बसेर उद्यमबाट विदेशमा भन्दा बढी कमाउन सकिने र आत्मनिर्भर हुन सकिन्छ भन्ने सन्देश उहाँले दिनुभएको स्थानीय शेरबहादुर खड्काले बताए । अध्ययनसँगै व्यवसायलाई अघि बढाउँदै राजनले बेनी र बागलुङमा गरी दुई स्थानमा ‘क्लिन लन्ड्री’ सञ्चालन गरी दैनिक रु १० हजारसम्म आम्दानी गरिरहनुभएको उनले जानकारी दिए ।
आफ्नै घरबाट सुरु गरिएको बेनी क्लिन लन्ड्रीलाई व्यवस्थित बनाउँदै पौडेलले बागलुङ बजारमासमेत सेवा विस्तार गरेका हुन । आधुनिक मेसिन प्रयोग गरी लुगा धुने, सुकाउने र प्रेस गर्ने सेवा प्रदान गर्दै आएको उक्त लन्ड्रीले छोटो समयमा बजारम पहिचान बनाएको छ ।
म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तह (बिए) दोस्रो वर्षमा अध्ययनरत पौडेलका अनुसार विद्युत्, सर्फ, पानी, भाँडा, मर्मत तथा अन्य सबै खर्च कटाएर पनि दैनिक रु पाँच हजारभन्दा बढी बचत हुने गरेको छ ।
“पढाइसँगै केही गर्नुपर्छ भन्ने सोचले व्यवसाय सुरु गरेको हुँ”, उनले भने, “सेवामा इमानदार भए ग्राहक आफैँ आउँछन्, आम्दानी आफैँ बढ्छ ।” स्थानीय बजारमा व्यस्त जीवनशैलीका कारण क्लिन लन्ड्री सेवाको माग बढ्दै गएको उनको भनाइ छ । यही अवसरलाई पहिचान गरेर अघि बढ्दा स्वदेशमा सम्भावना देखेको पौडेलको अनुभव छ । उनले ग्राहकको घरमा पुगेर कपडा ल्याउने र धोएपछि पुनः पु¥याउने (होम डेलिभरी) सेवा प्रदान गर्छन । “काम सानो–ठूलो हुँदैन”, उनले भने “परिश्रम गर्ने हो भने आफ्नै घरमा बसेर पनि मनग्य कमाइ गर्न सकिन्छ ।”
उनको व्यवसायले स्थानीयस्तरमा सेवा सुविधा थप्नुका साथै रोजगारीको सम्भावनासमेत सिर्जना गरेको बेनी नगरपालिका–७ का वडाअध्यक्ष रमेश श्रेष्ठले बताए । “पौडेलजस्ता युवाको पहलले स्वदेशमै उद्यम सम्भव छ भन्ने विश्वास जगाएको छ । यस्ता युवालाई सहयोग र  प्रोत्साहन गर्नुपर्छ”, उनले भने ।
ग्राहक पनि पौडेलको सेवाप्रति सन्तुष्ट देखिन्छन् । बेनी क्लिन लन्ड्रीमा नियमित ग्राहक एक सेवाग्राहीले भने कपडा धुवाउँदै आउनुभएको सन्देश फगामीले भन्नुभयो, “समयमै काम हुन्छ, लुगा सफा र सुरक्षित हुन्छन् ।  स्थानीय युवाले सुरु गरेको व्यवसाय भएकाले हामीलाई पनि गर्व लाग्छ ।”
पौडेलको यो सफलताले रोजगारीका लागि विदेश जानैपर्छ भन्ने मानसिकतालाई चुनौती दिएको छ । स्थानीय स्रोत, सीप र बजारलाई सही रूपमा उपयोग गर्न सके युवाले स्वदेशमै सम्मानजनक जीवनयापन गर्न सक्ने उदाहरण बनेको छ ।
Leave A Reply

Your email address will not be published.