सुचना, समाचार र मनोरन्जन

जनप्रियको बागडोर राजेन्द्र पहारीलाईः सुशासन र शैक्षिक उत्कृष्टताको प्रतिबद्धता

पोखरा,

नेपालकै अग्रणी सामुदायिक शैक्षिक संस्था जनप्रिय बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा राजेन्द्र पहारी निर्वाचित भएका छन् । क्याम्पसको ३४ औँ वार्षिकोत्सवका अवसरमा सम्पन्न २७ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनअन्तर्गत शुक्रबार भएको निर्वाचनबाट पहारी आगामी तीनवर्षे कार्यकाल (२०८२–२०८५) का लागि अध्यक्षमा चुनिएका हुन् ।

लोकतान्त्रिक विधिबाट सम्पन्न निर्वाचनमा पहारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी मानवअधिकारकर्मी विष्णुप्रसाद बराललाई ३४ मतको अन्तरले पराजित गरे । निर्वाचन समिति संयोजक अधिवक्ता बोधराज बरालका अनुसार खसेको कुल ३ सय ८६ मतमध्ये पहारीले २ सय ७ मत प्राप्त गर्दा बरालले १ सय ७३ मतमा चित्त बुझाए । मतदानमा ६ मत बदर भएको थियो । क्याम्पसका कुल ५ सय १६ सिनेटर मतदाता रहेकामा ३ सय ८६ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए ।

पोखरामा प्रतिष्ठित निर्माण व्यवसायीका रूपमा परिचित नवनिर्वाचित अध्यक्ष पहारी यसअघि क्याम्पसको कोषाध्यक्ष र सिनेटरका रूपमा क्रियाशील थिए । विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको गरिमालाई थप उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘मेरो कार्यकाल क्याम्पसको समृद्धि, संस्थागत सुशासन र शैक्षिक उत्कृष्टतामा केन्द्रित हुनेछ । सबै पक्षलाई समेटेर जनप्रियलाई साँच्चिकै जनप्रिय बनाउन म समर्पित भएर लाग्नेछु ।’

अध्यक्षसहित ११ जना सदस्यका लागि भएको निर्वाचनमा १४ जनाको उम्मेदवारी परेको थियो । इन्द्रप्रसाद पौडेल, तिलकराम पौडेल, नम्रता बराल, विश्वकुमार विजुक्छे, हेमबहादुर थापा पराजुली, ई।शारदामोहन काफ्ले, गणेशबहादुर अधिकारी, गिरीराज चालिसे, पदमबन्धु पोखरेल, लक्ष्मीप्रसाद पौडेल र राधिका रेग्मी सिग्देल निर्वाचित भए । निर्वाचित हुने सदस्यहरूमा शैक्षिक, सामाजिक र व्यावसायिक क्षेत्रका व्यक्तित्वहरू रहेका छन् ।

क्याम्पस प्रशासक एवं निर्वाचन समिति सदस्य अधिवक्ता एकनारायण अर्यालका अनुसार २५ सदस्यीय सञ्चालक समितिमा अध्यक्ष र ११ जना निर्वाचित सदस्य रहने व्यवस्था छ भने बाँकी सदस्यहरू विभिन्न सङ्घसंस्थाको प्रतिनिधित्व र मनोनयन प्रक्रियाबाट पूर्ति गरिनेछ । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ । पोखराको मुटुमा अवस्थित जनप्रिय बहुमुखी क्याम्पसले गुणस्तरीय शिक्षा र सामुदायिक अपनत्वका कारण राष्ट्रियस्तरमै उत्कृष्ट पहिचान बनाएको छ । नयाँ नेतृत्वसँगै क्याम्पसले भौतिक तथा प्राज्ञिक विकासमा नयाँ फड्को मार्ने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.