काठमाडौं :
अभिनेता राजेश हमाललाई नेपाल चलचित्र कलाकार संघले मानार्थ सदस्यता प्रदान गरेको छ। शुक्रबार आयोजित एक कार्यक्रममा संघले हमाललाई मानार्थ सदस्यताको परिचयपत्र हस्तान्तरण गरेको हो।
संघको विधानअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त व्यक्तित्वहरूलाई प्रदान गरिने मानार्थ सदस्यता यस पटक हमाललाई दिइएको हो।
मानार्थ सदस्यता हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल वैरागी, महासचिव सविन श्रेष्ठ, निर्देशक समाजका सचिव देवेन्द्र पाण्डे लगायतको उपस्थिति थियो।
हमाललाई परिचयपत्र हस्तान्तरण गर्दै संघका अध्यक्ष निरौलाले नेपाली चलचित्रको विकास र विस्तारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हमालले पुर्याएको योगदान, समर्पण र निरन्तर साधनाका कारण यो सदस्यता प्रदान गरिएको बताए। नेपाल चलचित्र कलाकार संघले कलाकारहरूको हकहित, वर्गीय सुरक्षा र चलचित्र क्षेत्रको संरक्षण तथा संवर्द्धन गर्दै आएको छ। संघले आफ्नो स्थापना दिवस आगामी भदौ २१, २२ र २३ गते विविध कार्यक्रमसहित मनाउने तयारी गरिरहेको छ।
अभिनेता हमालले पछिल्लो समय फिल्म ‘नरसिंहा : अवतार’अभिनय गरेका छन्। उनी झण्डै ८ वर्षपछि फिल्ममा कमब्याक गरेका हुन्। उनले ‘युगदेखि युगसम्म’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका थिए।
