सुचना, समाचार र मनोरन्जन

“यो चुनाव संवेदनशील र चुनौतीपूर्ण” : राजेश हमालको कडा सन्देश

काठमाडौं :

राजेश हमाल ले प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा कडा राजनीतिक सन्देश दिएका छन्। भिडियो सन्देश सार्वजनिक गर्दै उनले यसपटकको चुनाव आफ्ना लागि “अत्यन्त संवेदनशील र चुनौतीपूर्ण” हुने बताएका हुन्।

देश भदौ २३ र २४ गतेका घटनापछि संवेदनशील मोडमा उभिएको उल्लेख गर्दै हमालले मतदातालाई कसैको दबाब, प्रभाव वा भावनात्मक उत्तेजनामा नपरी विवेकपूर्ण ढंगले मतदान गर्न आग्रह गरेका छन्। उनले राजनीतिक दलहरूको कमजोर बन्दै गएको छवि र नयाँ शक्तिको अस्पष्ट दूरदर्शितालाई वर्तमान राजनीतिक संकटको संकेतका रूपमा चित्रित गरेका छन्।

“राजनीतिक रूपमा परिपक्व भनिएका दलहरूको धमलिएको छवि र नयाँ शक्ति भनाउँदाहरूको स्पष्ट दूरदर्शिता नदेखिँदा मतदाताका सामु ठूलो चुनौती खडा भएको छ,” हमालले भनेका छन्।

उनले भदौ २३ को कहालीलाग्दो घटना र भदौ २४ मा राष्ट्रिय सम्पदामा भएको विध्वंसबीचको सम्बन्ध अझै स्पष्ट नभएको उल्लेख गर्दै ती घटनाको जवाफदेहिता सुनिश्चित नगरी देश चुनावमा होमिएको अवस्था चिन्ताजनक भएको धारणा राखेका छन्।

हमालले चेतावनीपूर्ण शैलीमा राजनीतिक अस्थिरताले मुलुकको स्वतन्त्रता र सार्वभौमतामाथि नै असर पार्न सक्ने बताएका छन्। “यदि राजनीतिक स्थिरता र ऐक्यबद्धता आएन भने नेपालको स्वतन्त्रता र सार्वभौमतामाथि आँच आउन सक्छ,” उनले भिडियो सन्देशमा भनेका छन्।

उनको अभिव्यक्ति सार्वजनिक भएसँगै निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। चुनावी प्रतिस्पर्धा चर्किरहेका बेला एक स्थापित कलाकारको यस्तो स्पष्ट राजनीतिक टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

https://www.facebook.com/reel/1631188808227829

Leave A Reply

Your email address will not be published.