काठमाडौं :
निर्माणको तयारीमा रहेको फिल्म ‘महाराजधिराज’मा सुपरस्टार रमेश उप्रेती अनुबन्ध भएका छन्। अभिनेता पल शाहपछि रमेश उप्रेती फिल्ममा अनुबन्ध भएका हुन्। उनलाई पनि फिल्मको मुख्य भुमिकामा नै अनुबन्ध गरेको निर्माण टिमले जानकारी दिएका छन्।
रमेश लामो समयपछि रमेश फिल्ममा फर्किन लागेका हुन्। उनले पछिल्लो समय फिल्म ‘ऐश्वर्य’मा अभिनय गरेका थिए। उनी आफैले निर्माण गरेको यो फिल्मको बक्स अफिस कमजोर भएता पनि गीतले सर्वाधिक चर्चा पाएको थियो। यसबीचमा केही चलचित्रमा अनुबन्ध भए पनि रिलिज भएका छैनन्। केही गीतका भिडियोमा भने रमेश देखिएका छन्।
परिच्छेद सेनले निर्देशन गर्न लागेको यो फिल्मको केहि पोस्टरहरु समेत रिलिज भइसकेका छन्। यसअघि रमेश बाहेक पल शाहलाई राखेर पोस्टर रिलिज गरिएको थियो। आगामी फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले कामलाई अगाडि बढाएको छ।
रमेश सहितको सार्वजनिक भएको पोस्टरमा पललाई दुई अलग चरित्रमा देखाइएको छ। जहाँ उनी एउटामा न्यूड (वस्त्रविहीन)अवस्थामा सिंहासनमा बसेका छन्। अर्कोमा उनको पात्र शीरमा श्रीपेच र हातमा राजदण्डसहित राजर्षी पहिरनमा देखिएका थिए।
सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ। उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो। यस फिल्मका प्रस्तुतकर्ता विराज बिष्ट हुन्। उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो। फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्।