पोखरा,
पोखरा उद्योग वाणिज्य संघको भदौ २० र २१ गते हुने ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक अधिवेशनमा व्यवसायी तथा सामाजिक अभियन्ता रामेश्वर अधिकारीले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन्।
‘सबल व्यवसायी, व्यवस्थित बजार, समृद्ध संघ’ भन्ने अवधारणासहित चुनावी मैदानमा उत्रिएका अधिकारीको उम्मेदवारीको क्रम संख्या ११ रहेको छ।
लामो समयदेखि पोखराको व्यापार–व्यवसायसँगै विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थामा सक्रिय अधिकारीले व्यवसायीका साझा समस्या र सरोकारलाई संघमार्फत प्रभावकारी रूपमा उठाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।

व्यावसायिक रूपमा उनी पोखरा–९, महेन्द्रपुल साँधुमुखस्थित बिराज सप्लायर्स र बी एण्ड बी फेसन ट्रेडर्ससँग आबद्ध छन्। व्यवसाय सञ्चालनको लामो अनुभवसँगै बजार व्यवस्थापन र व्यवसायीका दैनिक समस्या नजिकबाट बुझ्ने अवसर पाएको उनले बताएका छन्।
अधिकारी यसअघि पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन्। उनी मिजुरे पोखरा सम्पर्क समाज, साँधुमुख महेन्द्रपुल बजार समिति तथा लायन्स क्लब अफ पोखरा सुन्दर नगरीका पूर्वअध्यक्ष हुन्। त्यस्तै कपडा व्यवसायी एशोसिएसन कास्कीका पूर्वउपाध्यक्ष तथा हाल सल्लाहकारका रूपमा पनि आबद्ध छन्।
सामाजिक क्षेत्रमा समेत सक्रिय अधिकारी लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका ग्लोबल कजेज चिफ तथा उपभोक्ता मञ्च कास्कीका जिल्ला सदस्य हुन्। उनी अधिकारी समाज कास्की र विश्व हिन्दु महासंघ कास्कीका आजीवन सदस्यसमेत रहेका छन्।
अधिकारीले अहिलेको चुनौतीपूर्ण आर्थिक अवस्थामा उद्योगी–व्यवसायीको हित संरक्षण, व्यवस्थित बजार निर्माण, व्यवसायमैत्री वातावरण, संस्थागत एकता तथा व्यवसायीका समस्याको व्यावहारिक समाधानमा संघको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताएका छन्।
उनले भने, “संघ व्यवसायीको साझा घर हो। व्यवसायीका समस्या सुन्ने मात्र होइन, समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी पहल गर्ने संस्था बन्नुपर्छ। मेरो अनुभव र क्षमतालाई यही उद्देश्यमा उपयोग गर्न चाहन्छु।”
अधिकारीले भदौ २० र २१ गते हुने महाधिवेशनमा सहभागी भई कार्यसमिति सदस्यतर्फ क्रम संख्या ११ मा अमूल्य मत प्रदान गर्न पोखरा उद्योग वाणिज्य संघका सम्पूर्ण उद्योगी–व्यवसायी सदस्यसँग आग्रह गरेका छन्।