काठमाडौँ,
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन । पदभार ग्रहण गर्दै उनले बजेट कार्यान्वयनका गर्न आयोजना प्राथमिकीकरणका लागि तीन सदस्यीय कार्यदल गठन गरेका छन।
आज राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारमा रहेको मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले बजेटको कार्यान्वयन गर्न आयोजना प्राथमिकीकरणका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरेका हुन ।
उनले बजेटमा समावेश भए पनि पूर्वतयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन । आवधिक योजना अनुसार आयोजना बजेटमा परे÷नपरेको यकिन गर्ने र प्राथमिकतामा नपरेका टुक्रे आयोजना पहिचान गरी खर्च कटौती गर्नेसमेत उनले उल्लेख गरे । ‘अब चुनाव गर्नुपर्नेछ, युवाका माग पूरा गर्नुपर्ने अवस्था पनि भएकाले खर्च कटौती गर्नु परेको हो’, उनले भने ।
अर्थमन्त्री खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव कार्यान्वयन गर्ने पनि बताएका छन ।