सुचना, समाचार र मनोरन्जन

‘रंगी’ को ट्रेलरमा बाबु र छोरीको प्रेम,कमेडी र पीडा

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को ट्रेलर सार्वजनिक भएको छ। अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक ट्रेलरमा बाबु र छोरीको प्रेम, कमेडी र पीडालाई देखाइएको छ।
सलोनको विवाह अनि छोरीको जन्मबाट सुरुवात ट्रेलरमा छोरी आयुषी ढकालका लागि बाबु सलोन बस्नेतको प्रेम, संघर्ष देखाइएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको ट्रेलरमा ‘डेब्यू’ नायिका नम्रता श्रेष्ठ र आयुषीको मित्रता, सलोन, नम्रता र आयुषीको नोकझोकलाई पनि देखाइएको छ। ट्रेलरका केही दृश्य भावुक लाग्छन् । खासगरी ट्रेलरको अन्त्यमा आयुषीले स्टेजबाट आफ्नो बाबुप्रति दर्शाएको प्रेम र संवादले सबैको मन छुन्छ। ट्रेलरमा आयुषीलाई सिटी स्क्यान मेसिनमा राखेको दृश्यले उनलाई केही गम्भीर रोग लागेको हुनसक्ने अनुमान गर्न सकिन्छ।

आगामी फागुन २ गते रिलिज हुने फिल्मको पोस्टर, टिजर र गीतले दर्शकको मन जितिरहँदा सार्वजनिक ट्रेलरले फिल्मप्रति चासो बढाउनेमा निर्माण पक्ष ढुक्क छ । ट्रेलर रिलिज पछि फिल्मकी निर्मात्री करिश्मा केसी बस्नेतले फिल्ममा बाबुछोरीमार्फत मायाको परिभाषालाई फरक ढंगले प्रस्तुत गरेको बताइन् । फिल्मका प्रस्तुतकर्ता सलोनले ‘रंगी’लाई संघर्ष र मायाको कथाको रुपमा बुझ्न आग्रह गरे।

निर्देशक सुरेश न्यौपानेले ‘रंगी’ फिल्ममात्र नभई एउटा भावनासमेत रहेको दाबी गरे । अभिनेत्री नम्रताले फिल्ममा आफूले धेरै दबाब झेलेर काम गर्नु नपरेको जनाइन्। बाल कलाकार आयुषीले ट्रेलरलाई दर्शकले मनपराउनेमा आफू ढुक्क रहेको बताइन्। सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा सलोन बस्नेत,नम्रता श्रेष्ठ, दिलीप रायमाझी,आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ ।

प्रस्तुतकर्ता सलोनका अनुसार फिल्मले बाबुछोरीको कथा देखाउनेछ । फिल्म ‘रंगी’ सलोनको डेब्यू निर्माण हो । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

Leave A Reply

Your email address will not be published.