सुचना, समाचार र मनोरन्जन

वन्यजन्तु जोगाउन राप्ती नदीमा दश वर्षदेखि सरसफाइ अभियान

चितवन/

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा वितेको १० वर्षदेखि सरसफाइ गरिँदै आएको छ । अभियान्ताहरूले स्वतस्फूर्त रूपमा नदी र आसपासका क्षेत्रमा मुख्यरूपमा प्लास्टिकजन्य वस्तु सङ्कलन गर्दै आएका हुन् ।

राप्ती सरसफाइ अभियानका संस्थापक अध्यक्ष अपिल घिमिरेका अनुसार २०७२ माघ २३ गतेदेखि हरेक हप्ताको शनिवार बिहान ८ बजे यो अभियान गर्ने गरिएको छ । नदीको मुहान मकवानपुरको त्रिखण्डीदेखि चितवनको मेघौलीमा रहेकाे गोलाघाटसम्म सरसफाइ गरिँदै आएको छ ।

नदीमा रहेका जलचर र निकुञ्जमा वन्यजन्तु प्लास्टिकबाट प्रभावित हुने भएकाले उनीहरूलाई जोगाउनु मुख्य उद्देश्य रहेको घिमिरेले बताउनुभयो । स्थानीय नागरिकलाई सहभागी गराएर ५० देखि सय जनासम्म हरेक हप्ता सहभागी हुने गरेका छन् । पचास जना हाराहारी नियमित अभियानमा जुट्ने अभियान्ता रहेको उहाँले जानकारी दिनुभयो ।

नदी र आसपासका क्षेत्रमा छरिएका प्लास्टिक वन्यजन्तुले घाँससँगै खाने र स्वास्थ्यमा प्रतिकूल असर पर्ने गर्दछ भने जालजस्ता वस्तुमा परेर कतिपय वन्यजन्तु र जलचर मर्ने समेत गरेका छन् । अभियानका क्रममा प्लास्टिक सङ्कलन र व्यवस्थापनसँगै स्थानीयलाई संरक्षण शिक्षा दिइँदै आइएको छ ।

Leave A Reply

Your email address will not be published.