शुभप्रभात,
२०८३ असार ९ गते (२३ जुन २०२६) मंगलवार, ज्येष्ठ शुद्ध शुक्लपक्ष नवमी तिथि। हस्त नक्षत्र, १५:४१ बजेपछि चित्रा। चन्द्रराशि कन्या।
मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। सोझोपनको फाइदा अरूले उठाउन सक्छन्। आकस्मिक खर्च बढ्नेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ।
वृष –
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, हा
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले लाभ दिलाउनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, सफलता प्राप्त हुनेछ।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सबैलाई समेटेर काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ।
कन्या –
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। व्यापारमा फाइदा हुनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
तुला –
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
केही पाउन केही वस्तु त्याग्नुपर्ला। रमाइलाे भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। तर, खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। व्यवसायमा लगानी गर्ने अवसर प्राप्त हुनेछ।
बृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यका लागि केही लगानी बढाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा पनि रकम बाहिरिन सक्छ।
धनु –
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। तर विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। सामाजिक दायित्व बढ्नेछ। संघर्षपछि लाभ उठाउन सकिनेछ।
मकर –
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ। सामाजिक वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। श्रम परे पनि विशेष उपलब्धि हासिल हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। लगनशीलताले उत्साह जगाउनेछ।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्ने समय छ। व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। लगानी गर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। अनावश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउनेछ। शुभचिन्तकको सुझावलाई ध्यान दिनुहोला।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा आंशिक लाभ भए पनि केही समस्या बढ्नेछन्। विवादास्पद कामले समस्या निम्त्याउने देखिन्छ। आम्दानी भइरहे पनि फजुल खर्च बढ्न सक्छ। केही रकम खर्च गर्नुपर्ने परिस्थिति आउला। काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
सबैको दिन शुभ रहोस….