काठमाडौँ,
राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने तयारी अगाडि बढेको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत शुक्रबार निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरेका थिए । त्यसबेला आयोगका आयुक्तहरूले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी रहेको जानकारी गराएका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीले पनि निर्वाचन आयोगका आयुक्तहरूसँग यही असोज २१ गते छलफल गरेकी थिइन् । आइतबार प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच नै छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा राष्ट्रिय सभा निर्वाचनको तयारीको विषयमा छलफल भएको थियो । जहाँ अध्यक्ष दाहालले निर्वाचन आयोगका आयुक्तसँगको भेटबारे पनि जानकारी गराएका थिए ।
‘२ दिन अगाडि मैले निर्वाचन आयुक्तलाई बोलाएको थिएँ । कुराकानी, छलफल गरियो । निर्वाचन आयोगले आगामी माघ ११ गते निर्वाचन गर्ने भनेको छ । उनीहरुले आफ्नो कार्यतालिका भित्र राखिसके । अब सरकारसँग समन्वय गरेर, तपाईंसँग समन्वय गरेर अघि बढ्ने भन्नेसम्मको कुरा भएको छ’ अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसमक्ष राखेका छन् ।
आगामी फागुन २० गते कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । कार्यकाल सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । यसकारण माघ दोस्रो साताभित्र निर्वाचन गरिसक्नुपर्ने बाध्यतामा निर्वाचन आयोग छ ।
अध्यक्ष दाहालका अनुसार राष्ट्रिय सभाको निर्वाचन समयमै गर्ने कुरामा प्रधानमन्त्री कार्की सकारात्मक छन् । दाहालका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचनमा जेनजीको सहभागिता गराउने विषयमा चासो राखेकी थिइन् ।