काठमाडौं :
निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको वास्तविक घटनामा आधारित नेपाली चलचित्र ‘रातो घेरा – द रेड सर्कल’ को छायांकन भक्तपुरबाट सुरु भएको छ। विश्राम फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको चलचित्रको पहिलो चरणको छायांकन ३० दिने सेड्युलमा छ।
भक्तपुरका विभिन्न ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक लोकेसनमा छायांकन भइरहेको यो फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा छन्। उनीहरूसँगै सुनिल पोखरेल, भोला राज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईँ, डी.बी. गुरुङ, बलबहादुर गुरुङ, इन्गी हाप्पो सुनुवार, सुरज तमु, खड्गबहादुर पुन (खबपु),अरुण पुन मगर, सुस्मिता कुँवर, रामबाबु रेग्मी, भावना खपाङ्गी मगर, उमेश सोनम, बिजया पौडेल, सुभाषप्रसाद गजुरेल, सुवास सिंह ठकुरी, सञ्जय कुमार, रमिक सिंह ठकुरी तथा सुनिल तामाङको अभिनय रहनेछ।

चलचित्रमा अनुभवी कलाकारसँगै केही नयाँ अनुहारलाई समेत अवसर दिइएको निर्माण पक्षले जनाएको छ । चलचित्रका निर्माता जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन हुन् भने सह–निर्मातामा सुमन गुरुङ र खेम राना रहेका छन् । निर्माण टिमका अनुसार चलचित्रलाई विषयवस्तु र निर्माण दुवै हिसाबले फरक स्तरमा प्रस्तुत गर्ने तयारी गरिएको छ। वास्तविक घटनाबाट प्रेरित कथा भएकाले छायांकनदेखि कलाकारको प्रस्तुतिसम्म स्वाभाविकपनमा विशेष ध्यान दिइएको निर्देशक अनिल बुढा मगरले बताए ।
चलचित्रको कथा तथा पटकथा राजु स्याङताङले तयार गरेका हुन् भने शिशिर बिसंखे छायाकार रहेका छन्। चलचित्रमा मनोज थापा मगर र सागर आलेको संगीत, श्रवण मुकारुङ तथा शिव हमालका गीत, मनोज थापा मगरकै पाश्र्व संगीत रहनेछ। जीवन थापा सम्पादकका रूपमा रहेका छन् भने फिरोज खड्का मुख्य सहायक निर्देशकको जिम्मेवारीमा छन् । सहायक निर्देशकमा अनिल दाहाल र सिर्जना भुजेल, प्रोडक्सन म्यानेजरमा सन्देश राई, कस्ट्युम डिजाइनमा जानकी कडायत, मेकअपमा विक्रम थापा, हेयरमा कल्पना लिम्बु,आर्ट निर्देशनमा कृपा खड्गी तथा प्रोडक्सन डिजाइनमा रामलाल खड्का आबद्ध छन् ।
निर्माण पक्षका अनुसार पहिलो चरणको छायांकन सम्पन्न भएपछि पोष्ट प्रोडक्शनको काम शुरु गरिनेछ । चलचित्रको वितरण अधिकार काफिया फिल्म्सले लिएको छ भने देशभर प्रभावकारी प्रदर्शनको तयारी भइरहेको बताइएको छ । निर्माण पक्षले चलचित्र २०८३ मंसिर १८ गते देशभर प्रदर्शन गर्ने तयारी गरेको छ । कलाकार, निर्माता तथा प्राविधिक टोलीको बलियो संयोजन, सत्य घटनामा आधारित कथावस्तु र उच्च निर्माण गुणस्तरका कारण ‘रातो घेरा’ यस वर्षको बहुप्रतीक्षित नेपाली चलचित्रमध्ये एक हुने विश्वास निर्माण टिमले व्यक्त गरेको छ ।