काठमाडौँ,
केन्द्रीय सुरक्षा समितिको बैठकले अर्काको धर्ममा खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयमा आइतबार बसेको बैठकले मधेस प्रदेशमा देखिएको धार्मिक घटनाक्रमको समीक्षा गर्दै अर्काको धर्ममा खलल पुराउनेलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने र धार्मिक सद्भाव र सहिष्णुता बढाउनका लागि प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।
मधेसका जिल्लामा धार्मिक सद्भाव र सहिष्णुता बढाउनको लागि स्थानीय प्रशासनहरूले समन्वयात्मक रूपमा प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने र स्थानीय तहहरूलाई पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्नका लागि अनुरोध गरिएको उनले बताए ।
त्यसैगरि निर्वाचनका सन्दर्भमा भइरहेको तयारीका बारेमा पनि सुरक्षा निकायसँग जानकारी लिइएको प्रवक्ता काफ्लेले जानकारी दिए ।
उनले फरार कैदीबन्दी खोजी अभियानलाई वडा तहमा पुगेर पनि थप प्रभावकारी ढङ्गबाट अगाडि बढाउनुपर्छ भन्ने विषयमा छलफल भएको बताए ।
उनले सोमबार राष्ट्रिय मानवअधिकार आयोग लगायतका संवैधानिक आयोगहरूसँग सुरक्षा निकायसहित छलफल गर्ने तय भएको उल्लेख गरे ।