सुचना, समाचार र मनोरन्जन

विपदमा रेबान पोखराको साथ : उद्धार कोषमा १२ लाख २७ हजार सहयोग

पोखरा,

पोखराका रेस्टुरेन्ट व्यवसायीहरु विपद्मा परेका नागरिकको सहयोगका लागि एकजुट भएका छन् । रेस्टुरेन्ट एण्ड बार एशोसियसन (रेबान) पोखराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि १२ लाख २७ हजार ७ सय ७६ रुपैयाँ संकलन गरी कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गरेको हो ।

बाढी, पहिरो लगायत प्राकृतिक विपद्बाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रेबानका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्वअध्यक्ष तथा साधारण सदस्यले स्वेच्छिक रुपमा रकम उपलब्ध गराएका हुन् ।

सहयोगमा रेबानका प्रथम उपाध्यक्ष तथा टेम्पल ट्री रिसोर्टका वसन्त गौतमले २ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन् । पूर्वअध्यक्ष एवं माउन्ट कैलाश रिसोर्टका अध्यक्ष नरेश भट्टराईले २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै, टेम्पल बेल बुटिक रिसोर्टका सञ्चालक तथा रेबान अध्यक्ष विश्वराज पौडेल र उनका भाइ भीष्मराज पौडेलले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ दिएका छन् ।

रेबानका कार्यसमिति सदस्य योगेश भट्टराईको बिजी बी क्याफे, सुनील भट्टराईको लेक म्याजिस्टिक लेक फ्रन्ट र सफल थापाको जर्मन बेकरीले जनही १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

यसैगरी किवी ब्याकप्याकर र प्याराडिसो क्याफे एण्ड बारबाट जनही ५१ हजार रुपैयाँ, रेबान पोखराले संस्थागत रुपमा ५० हजार रुपैयाँ तथा द ओल्ड लान्हुआ चाइनिज रेस्टुरेन्टका सदस्य ज्यासन हउ र कर्मचारीहरुबाट क्रमशः २८ हजार र ३० हजार रुपैयाँ सहयोग गरिएको छ ।

अन्य व्यवसायी तथा सदस्यहरुले पनि १० हजारदेखि २५ हजार ५ सय ५५ रुपैयाँसम्म सहयोग गरेका छन् ।

प्राकृतिक विपद्को कठिन समयमा राहत र उद्धारका लागि रेस्टुरेन्ट व्यवसायीहरुबाट जुटाइएको यो सहयोगले व्यवसायसँगै सामाजिक उत्तरदायित्वमा पनि पोखराको आतिथ्य क्षेत्र एकताबद्ध रहेको सन्देश दिएको छ ।

Leave A Reply

Your email address will not be published.