सुचना, समाचार र मनोरन्जन

विपद् प्रभावितका लागि पोखरा इलेक्ट्रिकल एसोसिएसनको १ लाख १ हजार सहयोग

पोखरा,

प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउन पोखरा इलेक्ट्रिकल एसोसिएसन, कास्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

एसोसिएसनले संकलित रकम कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङलाई जानकारी गराउँदै सरकारी राहत कोषमा जम्मा गरेको हो।

एसोसिएसनका अध्यक्ष केशव ढकालले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले संस्थागत रूपमा सहयोग गरिएको बताए। उनका अनुसार विपद्को समयमा सरकारी प्रयाससँगै संघसंस्था, व्यवसायी र नागरिकको सामूहिक सहकार्य आवश्यक हुने भएकाले एसोसिएसनले आफ्नो सामाजिक दायित्वअन्तर्गत सहयोग गरेको हो।

एसोसिएसनले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को यस कठिन समयमा सक्षम व्यक्ति, व्यवसायी तथा संघसंस्थालाई राहत तथा उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेको छ।

व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको एसोसिएसनले आगामी दिनमा पनि आवश्यकताअनुसार सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

एसोसिएसनले ‘व्यवसाय हाम्रो पेशा हो, समाजप्रतिको जिम्मेवारी हाम्रो कर्तव्य’ भन्ने भावनासहित संकटको समयमा गरिएको सानो सहयोगले पनि पीडित परिवारमा आशा जगाउन सक्ने विश्वास व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.