सुचना, समाचार र मनोरन्जन

विपद्का पीडितका लागि इस्लामिक कल्याणकारी समाजको तीन लाख सहयोग

पोखरा ,

प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउन इस्लामिक कल्याणकारी समाज, पोखरा–८ ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ लाख रुपैयाँ सहयोग गरेको छ।

विपद्को कठिन परिस्थितिमा पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले समाजले उक्त रकम कोषमा जम्मा गरेको हो। सहयोगबारे जिल्ला प्रशासन कार्यालय कास्कीलाई समेत जानकारी गराइएको समाजले जनाएको छ।

समाजले विपद्को समयमा मानवीय सहयोगका लागि साथ दिने सबै व्यक्ति, संस्था, समाज तथा समुदायप्रति आभार व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि पीडित तथा प्रभावितका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Chaka Panja

बाढी तथा अन्य प्राकृतिक विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजले शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

समाजले आफ्नो सहयोगलाई मानवीय सेवाको भावनासँग जोड्दै विपद्को समयमा सबै समुदाय, संघसंस्था र सहयोगी मनहरूलाई राहत तथा उद्धार अभियानमा हातेमालो गर्न आग्रह गरेको छ। साथै सहयोग तथा दान स्वीकार गरियोस् भन्ने कामनासहित अल्लाहसँग प्रार्थना गरिएको जनाएको छ।

संकटको घडीमा समुदायबीचको सहकार्य र मानवीय सहयोगले पीडित परिवारलाई राहतसँगै आशा र भरोसा पनि दिने समाजको विश्वास छ।

Leave A Reply

Your email address will not be published.