सुचना, समाचार र मनोरन्जन

व्यवस्थापन पढेका कँडेलको लक्ष्य : व्यवसायदेखि संस्थागत नेतृत्वसम्म

पोखरा,

व्यवस्थापनमा उच्च शिक्षा, लामो व्यवसायिक अनुभव र पोखरा उद्योग वाणिज्य संघमा दुई कार्यकालको संस्थागत संलग्नता-यिनै तीन आधारलाई लिएर व्यवसायी राम कँडेल संघको ३६औँ महाधिवेशनमा खुला सदस्य पदका उम्मेदवार बनेका छन्।

पोखरा विश्वविद्यालयबाट MBA (Master of Business Administration) पूरा गरेका कँडेल विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय छन्। उनको बुझाइमा व्यवस्थापन शिक्षा केवल प्रमाणपत्रमा सीमित विषय होइन, व्यवसायमा सही योजना, स्रोत परिचालन, जनशक्ति व्यवस्थापन र तथ्यमा आधारित निर्णय लिन प्रयोग हुने व्यवहारिक ज्ञान हो।

कँडेलले Easy Groups मार्फत हस्पिटालिटी, होटल तथा पर्यटन, मानव संसाधन तथा सुविधा व्यवस्थापन, ट्रेडिङ र सुरक्षा सेवासहितका क्षेत्रमा व्यवसायिक गतिविधि सञ्चालन गर्दै आएका छन्। विभिन्न प्रकृतिका व्यवसाय सम्हाल्दा प्राप्त व्यवहारिक अनुभवलाई उनले संस्थागत नेतृत्वमा उपयोग गर्न चाहेका छन्।

उनको व्यवसायिक यात्राको अर्को महत्वपूर्ण पक्ष राष्ट्रिय पोशाक घर हो। नेपाली मौलिक पोशाक तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले सञ्चालित यस व्यवसायमार्फत ढाका, खादी, अल्लोलगायत नेपाली उत्पादनको प्रवर्द्धनमा काम हुँदै आएको छ।

कँडेलका अनुसार स्थानीय उत्पादनलाई बजारमा स्थापित गर्न उत्पादन राम्रो भएर मात्र पुग्दैन। ब्रान्डिङ, बजार व्यवस्थापन, ग्राहकको आवश्यकता, आपूर्ति प्रणाली र आधुनिक व्यावसायिक प्रस्तुतीकरण पनि उत्तिकै आवश्यक हुन्छ।

प्रविधि र उपभोक्ताको व्यवहार तीव्र गतिमा परिवर्तन भइरहेका बेला परम्परागत व्यवसायिक सोचले मात्र प्रतिस्पर्धा गर्न कठिन हुने कँडेलको धारणा छ।

डिजिटल प्रविधिको प्रयोग, दक्ष जनशक्ति, सेवा गुणस्तर, तथ्यमा आधारित निर्णय र दीर्घकालीन योजनालाई व्यवसाय विकासको आधार बनाउनुपर्ने उनी बताउँछन्।

यही व्यवस्थापन दृष्टिकोणलाई पोखरा उद्योग वाणिज्य संघको भूमिकासँग जोड्ने उनको प्रयास छ। संघले व्यवसायीका तत्कालीन समस्या समाधानका लागि पहल गर्नुका साथै भविष्यका चुनौती सामना गर्न सक्ने व्यवसायिक वातावरण निर्माण गर्नुपर्ने कँडेलको भनाइ छ।

युवा पुस्तामा उद्यमशीलताको चाहना बढ्दै गए पनि बजार, पूँजी, प्रविधि र व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञानको अभाव चुनौती बन्न सक्ने कँडेल बताउँछन्।

त्यसैले उद्योग वाणिज्य संघमार्फत उद्यमशीलता विकास, सीप अभिवृद्धि, व्यवसायिक परामर्श तथा नयाँ पुस्तालाई बजारसँग जोड्ने कार्यक्रम अघि बढाउनुपर्ने उनको प्राथमिकता छ।

साना तथा मझौला व्यवसाय र स्थानीय उत्पादनलाई व्यवस्थित रूपमा बजारसँग जोड्न सके पोखराको स्थानीय अर्थतन्त्रलाई थप बलियो बनाउन सकिने उनको विश्वास छ।

कँडेलले पोखरा उद्योग वाणिज्य संघमा २०७५-७९ र २०७९-८३ गरी दुई कार्यकाल कार्यसमिति सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्।

अब व्यवस्थापनको औपचारिक शिक्षा, विभिन्न व्यवसायिक क्षेत्रको अनुभव र संघमा प्राप्त संस्थागत अनुभवलाई एकै ठाउँमा जोड्दै उनले खुला सदस्य पदमा उम्मेदवारी दिएका हुन्।

उनका प्राथमिकतामा व्यवसायमैत्री वातावरण निर्माण, युवा उद्यमशीलता, डिजिटल व्यवसाय, स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन तथा हस्पिटालिटी क्षेत्रको विकास र निजी क्षेत्रको संस्थागत सुदृढीकरण रहेका छन्।

कँडेलका लागि व्यवस्थापन कम्पनी सञ्चालन गर्ने विषयमा मात्र सीमित छैन। उनका अनुसार उपलब्ध स्रोत, सीप, अवसर र जनशक्तिलाई सही ढंगले जोडेर परिणाम निकाल्नु नै प्रभावकारी व्यवस्थापन हो। यही सोचलाई अब व्यवसायबाट उद्योग वाणिज्य संघको संस्थागत नेतृत्वसम्म पुर्‍याउने उनको प्रयास छ।

Leave A Reply

Your email address will not be published.