पोखरा,
पोखरामा आगामी असोज ३ गते आयोजना हुने पाँचौँ संस्करणको ‘राइट टू प्रोटिन रन–२०२६’ लाई लक्षित गर्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीसँग आयोजकले सहकार्य सम्झौता गरेको छ।
सम्झौतापत्रमा हिसान कास्कीका अध्यक्ष दीवाकर जैसी र आयोजक पक्षका प्रतिनिधिले हस्ताक्षर गरेका हुन्। सहकार्यले विद्यार्थी तथा शैक्षिक क्षेत्रलाई पोषण, प्रोटिन, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीसम्बन्धी अभियानसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल दाना उद्योग संघको आयोजनामा तथा अमेरिकी सोयाबिन निर्यात परिषद्को मुख्य प्रायोजनमा हुने प्रतियोगितामा चार हजारभन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ। यसअघि चार संस्करण काठमाडौँमा आयोजना हुँदै आएकोमा यसपटक पहिलोपटक पोखरामा प्रतियोगिता आयोजना हुन लागेको हो।
प्रतियोगितामा आठ विधामा प्रतिस्पर्धा हुनेछ। हाफ म्याराथनतर्फ पुरुष र महिलाका लागि २१ किलोमिटर, खुला पुरुषतर्फ १० किलोमिटर र खुला महिलातर्फ ५ किलोमिटर दौड हुनेछ। त्यस्तै कक्षा १२ सम्मका पुरुषका लागि ५ किलोमिटर, महिलाका लागि ३ किलोमिटर तथा ह्विलचेयरतर्फ पुरुष र महिला दुवैका लागि ३ किलोमिटर दौड हुनेछ।
प्रतियोगिताको कुल पुरस्कार राशि १६ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ। नयाँ तथा उदीयमान धावकलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै खेलकुदमार्फत पोषण र स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
अभियानमार्फत अण्डा, कुखुराको मासु, माछा, दूध, सोया, टोफु, पनीर, दाल तथा गेडागुडीजस्ता स्थानीय तथा सहजै उपलब्ध प्रोटिनका स्रोतबारे समेत जनचेतना अभिवृद्धि गरिने आयोजकले जनाएको छ।
हिसान कास्कीसँगको सहकार्यले विद्यार्थी तथा युवा पुस्तालाई नियमित शारीरिक गतिविधि, सन्तुलित आहार र पोषणको महत्त्वबारे सचेत बनाउन थप प्रभावकारी भूमिका खेल्ने आयोजकको विश्वास छ।
दौड पोखराको बसुन्धरा पार्कबाट सुरु भई हल्लनचोक, खहरे, सेदी, खपौंदी र पामे हुँदै पुनः बसुन्धरा पार्कमै पुगेर सम्पन्न हुनेछ। दौडलाई सुरक्षित तथा व्यवस्थित बनाउन नेपाल एथलेटिक्स संघ, स्थानीय प्रशासन, ट्राफिक प्रहरी, सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा स्वयंसेवकसँग समन्वय गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार ‘राइट टू प्रोटिन रन’ केवल दौड प्रतियोगिता मात्र नभई पोषण, शारीरिक तन्दुरुस्ती, स्वस्थ जीवनशैली र स्वास्थ्य सचेतनालाई समुदायसम्म पुर्याउने अभियान हो। हिसान कास्कीसँगको सहकार्यले यस अभियानलाई विद्यार्थी तथा शैक्षिक समुदायसम्म विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।