काठमाडौँ :
सगरमाथा आरोहणको वास्तविक यात्रा, हिमाली वातावरण र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’को फस्ट लुक पोस्टर तथा आधिकारिक टिजर सार्वजनिक गरिएको छ। सामाजिक संस्था वि विल राईज फाउण्डेसनको निर्माणमा बनेको यो वृत्तचित्र ५० मिनेटको रहेको छ।
दुई वर्षको अनुसन्धान, छायांकन र निर्माण प्रक्रियापछि तयार पारिएको यस वृत्तचित्रमा ५० वर्ष नाघेका एक व्यक्तिले उमेर र आफ्नै सीमालाई चुनौती दिँदै समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्म गरेको प्रेरणादायी यात्रा प्रस्तुत गरिएको छ। नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा कुनै पनि कृत्रिम दृश्य समावेश नगरी निर्माण गरिएको यो नै पहिलो डकुमेन्ट्री भएको निर्माण पक्षको दाबी छ।
नयाँ पुस्ताका निर्देशक निर्मल श्रेष्ठको निर्देशनमा बनेको यस वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्देशक श्रेष्ठले संयुक्त रूपमा लेखेका हुन्। वृत्तचित्रमा भुषण दाहालको भ्वाइसओभर रहेको छ भने यो नेपाली र अंग्रेजी दुवै भाषामा तयार पारिएको छ।
वृत्तचित्रमा कीर्तिमानी आरोहीहरू फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पा मुख्य आरोहीका रूपमा देखिएका छन्। फुर्वाले १८ पटक र निमाले विश्वका १४ अग्ला हिमालसहित १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन्। उनीहरूसँगै विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठ पनि वृत्तचित्रका महत्वपूर्ण पात्रका रूपमा प्रस्तुत भएका छन्।
वृत्तचित्रले सगरमाथाको भव्यताका साथै आरोहणको जोखिम, शेर्पा समुदायको अथक योगदान र जलवायु परिवर्तनका कारण बदलिँदै गएको हिमाली वातावरणीय चुनौतीलाई गहिराइका साथ उठाएको छ।
निर्माण टिमका अनुसार ुरोड टु एभरेस्टुको नेपाल प्रिमियर आउँदो भदौ ६ मा काठमाडौँमा र अन्तर्राष्ट्रिय प्रिमियर भदौ २८ गते हङकङमा हुनेछ। प्रिमियरपछि यसलाई नेपालका हलहरूका साथै विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रदर्शन गरिनेछ। यस वृत्तचित्रले विश्वभर नेपालको पर्यटन प्रवर्द्धनमा समेत ठूलो टेवा पुर्याउने विश्वास निर्माण पक्षले लिएको छ।